फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु हुँदैछ । अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा हुन लागेको यस संस्करणमा पहिलो पटक ४८ टोलीको सहभागिता रहनेछ । साविक विजेता अर्जेन्टिना पुनः कप्तान लियोनेल मेसीको नेतृत्वमा उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रने तयारीमा छ ।
जुन २४ मा ३९ वर्ष पुग्ने मेसीका लागि यो विश्वकप विशेष महत्वको हुन सक्छ । विश्व फुटबलका महानतम खेलाडीमध्ये एक मानिने मेसी सामु यसपटक विश्वकप इतिहासका थुप्रै कीर्तिमान तोड्ने अवसर छ ।
छैटौँ विश्वकप खेल्ने पहिलो खेलाडी बन्ने अवसर
मेसीले पहिलो विश्वकप सन् २००६ मा खेलेका थिए । त्यसपछि उनले २०१०, २०१४, २०१८ र २०२२ संस्करणमा अर्जेन्टिनाको प्रतिनिधित्व गरेका छन् । २०२६ को विश्वकपमा मैदान उत्रिएसँगै उनी आफ्नो छैटौँ विश्वकप खेल्ने खेलाडी बन्नेछन् ।
पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र मेक्सिकोका गोलरक्षक गुइलेर्मो ओचोआ पनि यो उपलब्धिनजिक रहेका छन् । तर मेसी अर्जेन्टिनाबाट छैटौँ विश्वकप खेल्ने पहिलो खेलाडी बन्नेछन् ।
विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको कीर्तिमान पछ्याउँदै मेसीले हालसम्म विश्वकपमा २६ खेल खेल्दै १३ गोल गरेका छन् । उनी अर्जेन्टिनाका लागि विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान जर्मनीका मिरोस्लाभ क्लोजेको नाममा छ । उनले २४ खेलमा १६ गोल गरेका थिए ।
यदि मेसीले २०२६ विश्वकपमा चार वा सोभन्दा बढी गोल गर्न सके, उनले क्लोजेलाई उछिन्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्नेछन् । अर्जेन्टिनाको बलियो टोली र मेसीको अनुभवलाई हेर्दा यो उपलब्धि असम्भव मानिएको छैन ।
पाँच फरक विश्वकपमा गोल गर्ने दोस्रो खेलाडी बन्ने सम्भावना
मेसीले २००६, २०१४, २०१८ र २०२२ विश्वकपमा गोल गरिसकेका छन् । यदि उनले २०२६ संस्करणमा पनि कम्तीमा एक गोल गरे भने पाँच फरक विश्वकपमा गोल गर्ने विश्वका दोस्रो खेलाडी बन्नेछन् । हाल यो कीर्तिमान केवल क्रिस्टियानो रोनाल्डोको नाममा छ । उनले २००६ देखि २०२२ सम्म लगातार पाँच विश्वकपमा गोल गरेका थिए । मेसीले यो उपलब्धि हासिल गरे दक्षिण अमेरिकाबाट पाँच फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी पनि बन्नेछन् ।
सर्वाधिक निर्णायक असिस्टको कीर्तिमान पनि नजिक
मेसी केवल गोलकर्ता मात्र होइनन्, गोल सिर्जना गर्ने खेलाडीका रूपमा पनि परिचित छन् । उनले विश्वकपमा हालसम्म आठ निर्णायक असिस्ट गरेका छन् ।
यस सूचीमा उनी अर्जेन्टिनाका महान खेलाडी डिएगो म्याराडोनासँग बराबरीमा छन् । यदि २०२६ विश्वकपमा उनले एक निर्णायक असिस्ट थप्न सके अर्जेन्टिनाका लागि विश्वकप इतिहासमा सर्वाधिक निर्णायक पास दिने खेलाडी बन्नेछन् । विश्वकप इतिहासमा सर्वाधिक नौ निर्णायक असिस्ट दिने कीर्तिमान पश्चिम जर्मनीका फ्रिट्ज वाल्टरको नाममा छ । मेसी यो कीर्तिमान बराबरी गर्न एक र तोड्न दुई निर्णायक पास टाढा छन् ।
कप्तानका रूपमा दुई पटक विश्वकप जित्ने पहिलो खेलाडी बन्ने लक्ष्य
मेसीले २०२२ मा अर्जेन्टिनालाई विश्वविजेता बनाएका थिए । यदि उनले २०२६ मा पनि टोलीलाई उपाधि दिलाउन सके विश्व फुटबल इतिहासमा कप्तानका रूपमा दुई पटक विश्वकप जित्ने पहिलो खेलाडी बन्नेछन् । विश्व फुटबलका धेरै महान कप्तानले विश्वकप उचाले पनि कसैले दुई पटक कप्तानका रूपमा यो उपलब्धि हासिल गर्न सकेका छैनन् ।
अर्को ऐतिहासिक उपलब्धिको सम्भावना
मेसीको कप्तानीमा अर्जेन्टिना २०१४ र २०२२ विश्वकपको फाइनलमा पुगिसकेको छ । यदि अर्जेन्टिना २०२६ मा पनि फाइनलमा पुग्यो भने मेसी विश्वकप इतिहासमा आफ्नो टोलीलाई तीन पटक फाइनलसम्म पुर्याउने पहिलो कप्तान बन्नेछन् ।
कतार विश्वकप २०२२ जितेपछि धेरैले मेसीको विश्वकप यात्रा समाप्त भएको अनुमान गरेका थिए । तर २०२६ मा उनी फेरि अर्जेन्टिनाको आशा र भरोसाको केन्द्र बनेका छन् । यसपटक उनको लक्ष्य केवल अर्को विश्वकप उपाधि जित्नु मात्र होइन, दशकौँदेखि कायम रहेका ऐतिहासिक कीर्तिमानहरू आफ्नो नाममा लेखाउनु पनि हुनेछ । यदि मेसीले आफ्नो लय कायम राख्न सके, फिफा विश्वकप २०२६ ले उनको महान करियरमा अर्को स्वर्णिम अध्याय थप्न सक्छ ।