सरकारले सार्वजनिक गरेको मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरणपछि गृहमन्त्री सुदन गुरुङको सम्पत्तिलाई लिएर व्यापक बहस सुरु भएको छ। सार्वजनिक विवरण अनुसार गुरुङसँग ठूलो परिमाणमा सुनचाँदी, जग्गाजमिन, बैंक बचत तथा सेयर लगानी रहेको देखिएको छ।
गुरुङले पेश गरेको विवरणमा ८९ तोला सुन र ६ किलो चाँदी रहेको उल्लेख छ। त्यसैगरी, गोरखामा २२१ रोपनी पैतृक जग्गा हजुरबाको नाममा रहेको जनाइएको छ भने चितवनको भरतपुरमा ३० कठ्ठा जग्गा बुवाको नाममा रहेको छ। उनको आफ्नै नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ।
यसैबीच, विभिन्न कम्पनीमा करिब ४ करोड ३० लाख रुपैयाँ बराबरको सेयर लगानी र तीन बैंक खातामा ६२ लाख रुपैयाँभन्दा बढी बचत रहेको पनि सार्वजनिक भएको छ। गुरुङले आफ्नो सम्पत्तिको स्रोत पैतृक सम्पत्ति र व्यवसाय भएको उल्लेख गरे पनि व्यवसायको प्रकृति भने खुलाइएको छैन।