गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगमा बयान दिने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी विद्रोहका क्रममा भदौ २४ मा भएको घटनामा आफू र आफ्नो पार्टीको संलग्नता नरहेको दाबी गरेका छन् ।
लामिछानेले आफ्नो बयानमा भनेका छन्, 'भदौ २४ को घटनामा मेरो र मेरो पार्टीको संलग्नता नरहेको स्पष्ट पार्दै हामीले कुनै पनि हिंसात्मक क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका नखेलेको जनाएका छौँ। यदि कोही संलग्न भेटिए कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।'
साथै, लामिछानेले नख्खु कारागारबाट आफ्नो चाहनाविपरीत बाहिर निस्किएको पनि बताएका छन्। 'भदौ २४ गते करिब दिउँसो १२:३० बजे कारागारका नाइकेहरूले मलाई कार्यालयमा बोलाएर सुरक्षा निकायका प्रतिनिधिहरूले कारागार बाहिर असामान्य अवस्था सिर्जना भएको र ठूलो भिड जम्मा भएको जानकारी दिए। मैले अदालतको आदेशबिना कारागारबाट निस्कन अस्वीकार गरेँ। तथापि, जेल प्रशासनले भिडलाई म स्वयम् सम्झाउन सक्ने भन्दै पटक–पटक आग्रह गरेपछि म कारागार प्रांगणमै रहेर भिडलाई सम्बोधन गर्न तयार भएँ र माइकको व्यवस्था गर्न भनेँ,' लामिछानेले बताए।
उनी भन्छन्, 'त्यसपछि पुलिस आत्तियो र भिडले मलाई धकेलेर कारागार बाहिर पुर्यायो। म कारागार छेउको रेस्टुरेन्टको बार्दलीमा चढी भिडलाई शान्ति, संयमता अपनाउन र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न अपिल गर्दै सम्बोधन गरेँ।'
लामिछानेले कारागार प्रशासनले औपचारिक थुनामुक्त पत्र तयार गर्दै रहेको भए पनि भिडले उनलाई बाहिर लगेको, र पत्रमा कुनै सहभागिता नभएको स्पष्ट पारेका छन्। 'म कारागार प्रशासनकै निर्देशनमा भिडको जिम्मा लगाइयो, र जबर्जस्ती बाहिर पठाइयो। त्यसपछि कलाकार रामकृष्ण ढकालको गाडीमार्फत सुरक्षित स्थानमा पुगेँ र सुरक्षाकर्मीलाई जानकारी दिएँ। २८ भदौमा सुरक्षा प्रत्याभूति पाएपछि पुनः नख्खु कारागार फर्कें,' उनले भनेका छन्।