नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भदौ २३ र २४ को घटनालाई नितान्त षड्यन्त्रपूर्ण भएको दाबी गरेका छन् । जेनजी घटनासम्बन्धी जाँचबुझ आयोगलाई दिएको बयानमा देउवाले ती दिनको घटनामा कसले हात हालेको थाहा नभएको स्पष्ट पारेका छन् ।
देउवाका अनुसार, 'यो नितान्त षड्यन्त्र हो, तर कसले गर्यो थाहा भएन । मेरो निवासमा भएको तोडफोड, आगजनी र लुटपाट सम्बन्धमा नेपाल प्रहरीले मुचुल्का तयार पारेको छ, तर कारबाहीको जानकारी मसँग छैन । मैले राजनीतिक हस्तक्षेप वा पक्षपात गरेको छैन, र २३–२४ गतेको घटनामा प्रहरीले सही आंकलन गर्न नसकेको विषयमा राजनीतिक हस्तक्षेप भएको भन्नेमा म सहमत छैन ।'
उनले घटनाका दिनबारे पनि विवरण दिएका छन् । भद्र २३ गते बूढानीलकण्ठ वडा नं. २, बासुकी मार्गस्थित आफ्नो निवासमा रहेको र बेलुका वालुबाटारमा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेको उल्लेख गरेका छन् । देउवाले औपचारिक बैठकमा सहभागी नभएको बताएका छन् ।
भद्र २४ गते बिहान १० बजे आफ्नो निवासमा प्रदर्शनकारी भेला भएको, सुरक्षाकर्मीले रोक्ने प्रयास गर्दा उनीमाथि केही हातपात भएको र केही जेनजी युवाहरूले सहयोग गरेको उनले बताएका छन् । 'हामी राति करिब २२ बजे सुरक्षित स्थानमा पुगेका थियौँ,' उनले उल्लेख गरेका छन् ।
साथै देउवाले आफ्नो निवासमा ठूलो रकम नभएको पनि स्पष्ट पारेका छन् । 'नेपाल प्रहरीले वडा अध्यक्षको रोहबरमा गरेको मुचुल्कामा भेटिएको रकम ठूलो परिमाणमा थिएन । सामाजिक सञ्जालमा फैलिएका विवरण एआई जेनेरेटेड हुन सक्छन्,' उनले भनेका छन् ।