Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

गगन थापाको राजीनामापछि दिल निशानीले भने- चुनाव हारेकोमा शरम मान्नु पर्दैन

गत फागुन २१ गतेको निर्वाचन परिणामलाई लिएर नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् । उक्त राजीनामापछि थापालाई विभिन्न कोणबाट टिकाटिप्पणी र विश्लेषणहरू हुन थालेका हुन् ।

पार्टीभित्र निकै ठूलो संघर्ष गरी विशेष महाधिवेशनमार्फत नेतृत्वमा पुगेका थापाको राजीनामालाई लिएर धेरैले नेतृत्व पलायन हुने हो कि भन्ने चिन्ता प्रकट गरेका छन् भने केहीले यो मात्र उनको ‘स्टन्ट’ र ‘मिडिया ट्रायल’ भएको बताइरहेका छन् । तर, गगनको राजीनामाबाट कांग्रेजजन मात्र होइनन् अधिकांश नेपालीहरू खुसी देखिँदैनन् ।

त्यस्तै, खुसी नदेखिनेमा पर्छन् स्वतन्त्र लेखकको पहचान बनाएका दिल निशानी मगर । उनले आफ्नो फेसबुकमार्फत् धारणा व्यक्त गर्दै गगन थापाको चुनावमा भएको हार कुनै अपराध नभएको टिप्पणी गर्दै राजीनामाको विषयलाई पुनर्विचार गर्न आग्रह गरेका छन् ।

उनले यस्तो लेखेका छन्-

गगन थापा जी,
चुनाव हार्नु भनेको फौजदारी अभियोग लाग्नु होइन। चुनाव हार्नु भनेको कुनै नैतिक पतन हुनु होइन। चुनाव हार्नु भनेको सांगठानिक अपराध गर्नु पनि होइन। तपाईले आजको मितिसम्म अदालतमा धरौटी बुझाउनु परेको छैन। जेल तोडेर निस्किनु परेको छैन। त्यसैले चुनाव हारेकोमा शरम मान्नु पनि पर्दैन।
खरबौ सम्पत्तिमा आगजनी गरेर पनि कारको सनरुफ [Sunroof] माथि टाउको निकालेर हिँड्न सक्नेहरूले चुनाव जितेका छन्। तर तपाई खरानी टक्टकाएर उभिएको मान्छे हो। लुकीलुकी हिड्नु परेको थियो।  त्यो दिन भेटाएको भए तपाईलाई पनि आगोमा जलाएर मार्ने थिए। बाचेर सभापती बन्न पाउनु भयो।
चुनाव जित्ने भाग्यमानीहरु लाई  चुनाव जित्नुको कारण थाहा छैन। इतिहासमा यस्तो अनौठो चुनाव सम्पन्न भएको छ, जहाँ बाकसको मत देखेर विजेता उम्मेदवारहरू नै आश्चर्यचकित बनेका छन्। किन, कसरी, कस्लाई र के कामका लागि भोट हाल्दैछु भनेर मतदाता लाई पनि थाहा छैन।
तपाईंसँग नैतिकता बाँकी नै छ, कृपया राजिनामाबारे पुनर्विचार गर्नुहोस्।