खेलकुदको माध्यमबाट विद्यार्थीहरूमा अनुशासनको विकास गर्ने तथा प्रतिभाशाली फुटबल खेलाडी तयार पार्ने मुख्य उद्देश्यका साथ डिएभी कलेज (प्लस टु) ले आयोजना गरेको सातौँ डिएभी +२ अन्तरकलेज ६-ए-साइड फुटसल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ ।
प्रतियोगिताको शुभारम्भ मिति २०८२ माघ १६ गते कलेजको आफ्नै फुटसल मैदानमा केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडियाको प्रमुख आतिथ्यतामा भएको थियो । मुख्य अतिथिका रूपमा हिसान केन्द्रका वरिष्ठ उपाध्यक्ष डा. स्वागत श्रेष्ठ तथा डिएभी कलेजका प्रिन्सिपल एवं हिसान केन्द्रीय सदस्य सुमन बस्नेतले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा शिव शक्ति एडु मार्ट प्रा.लि.का संस्थापक महेश गिरहिया तथा सुमेरु सिटी हस्पिटलका प्रतिनिधिहरूको पनि विशेष उपस्थिति रहेको थियो ।
काठमाडौँ उपत्यकाका ४० वटा कलेजहरूको सहभागिता रहेको यो तीन दिनसम्म चलेको प्रतियोगितालाई +२ तहको सबैभन्दा ठूलो धनराशि पुरस्कार भएको प्रतियोगिताका रूपमा प्रस्तुत गरिएको छ । कलेजका प्रिन्सिपल सुमन बस्नेतले यसलाई +२ स्तरकै सर्वाधिक पुरस्कार राशियुक्त प्रतियोगिताको रूपमा व्याख्या गरे।
प्रतियोगितामा समृद्धि स्कुलले उपाधि जित्दै नगद ३ लाख रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता हेराल्ड कलेजले नगद २ लाख रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र हासिल गरेको छ ।
व्यक्तिगत पुरस्कारतर्फ समृद्धि स्कुलका कप्तान बोगटी उत्कृष्ट खेलाडी घोषित हुँदै नगद १५ हजार रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्न सफल भए । उत्कृष्ट गोलरक्षकको उपाधि हेराल्ड कलेजका निराजन मगरले जिते भने उच्च गोलकर्ताको सम्मान एआइटीएम कलेजका सुशन बलामीले प्राप्त गरे । यी तीनै खेलाडीहरूलाई जनही नगद १५ हजार रुपैयाँ, व्यक्तिगत ट्रफी तथा प्रमाणपत्र प्रदान गरियो ।
विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, कलेजका प्रिन्सिपल सुमन बस्नेत तथा शिव शक्ति एडु मार्टका संस्थापक महेश गिरहियाले संयुक्त रूपमा पुरस्कार वितरण गरे ।