Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

‘मिस्टर कोशी’ शारीरिक सुगठन प्रतियोगिता सञ्चालन गरिने

धरानमा सातौँ ‘मिस्टर कोशी प्रदेश–२०८२’ खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ ।

शारीरिक सुगठन खेलको विकास तथा विस्तार गर्नाका साथै प्रतिभाशाली खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्ने र खेलाडीको आर्थिक सशक्तिकरणमार्फत स्वस्थ नागरिक निर्माणमा योगदान पु‍र्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । एलाइनेट जिम धरानद्वारा आयोजित प्रतियोगिता आगामी चैत २७ र २८ गते धरान उपमहानगरपालिका–८ स्थित सभागृह भवनमा सञ्चालन गरिने जनाइएको छ । 

प्रतियोगिताको पहिलो दिन ‘प्रिजजिङ’ सञ्चालन गरिनेछ । उक्त चरणमा प्रत्येक तौल समूहबाट ६–६ जना खेलाडी छनोट गरिनेछ । विभिन्न तौल समूहबाट छनोट भएका कुल ३० जना खेलाडी फाइनल चरणमा सहभागी हुने एलाइनेट जिम धरानका अध्यक्ष विक्रम लिम्बूले जानकारी दिए ।

फाइनल चरणमा प्रत्येक तौल समूहमा प्रतिस्पर्धा गराई प्रथमदेखि छैटौँ स्थानसम्मका खेलाडी निर्धारण गरिनेछ । प्रत्येक तौल समूहका प्रथम स्थान प्राप्त खेलाडी मात्र ‘ओभरअल’ चरणमा सहभागी हुनेछन् । ओभरअल चरणमा प्रवेश गरेका ६ जना खेलाडीबीच पुनः प्रतिस्पर्धा गराई प्रथमदेखि छैटौँ स्थानसम्म निर्धारण गरिने जनाइएको छ । ओभरअल चरणमा प्रथम हुने खेलाडीलाई ‘सातौँ मिस्टर कोशी प्रदेश–२०८२’ घोषित गरिने अध्यक्ष लिम्बूले बताए ।

प्रतियोगितामा ५५, ६०, ६५, ७०, तथा ७५ केजी वजन समूह समावेश गरिएको छ । प्रत्येक तौल समूहमा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

ओभरअल समूहअन्तर्गत प्रथम हुने खेलाडीलाई नगद रु एक लाख २५ हजार, दोस्रो हुनेलाई रु ५० हजार, तेस्रो हुनेलाई रु ४० हजार, चौथो हुनेलाई रु ३० हजार, पाँचौँ हुनेलाई रु २५ हजार र छैटौँ हुनेलाई रु। २० हजार नगद पुरस्कार प्रदान गरिनेछ । यसैगरी बेस्ट पोजर, मस्कुलर म्यान, मोस्ट इम्प्रुभ र बेस्ट टिम विधाका विजेतालाई जनही रु पाँच हजार नगदसहित ट्रफी र मेडल प्रदान गरिने अध्यक्ष लिम्बूले बताए ।