Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

१८ महिनापछि त्रिशूलीमा भेटिएको बसभित्र मानव अवशेष फेला

तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोङद्राङबेसीस्थित त्रिशूली नदी किनारमा भेटिएको बसमा एउटा मानव अवशेष फेला परेको छ ।बस उत्खनन सुरु गरेको १६औँ दिनमा गणपति डिलक्स बसमा मानव अवशेष भेटिएको हो । बसको बीच भागको सिटमा अवशेष फेला परेको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । उनका अनुसार चिकित्सकसहितको टोलीले अवशेष भरतपुर अस्पतालको शव गृहमा ल्याएको छ ।

सोमबार बसको इन्जिनको भाग टुक्र्याएर बाहिर निकालिएको छ । पछाडिको र बीचको भाग अझै निकाल्न बाँकी रहेको छ । बीच भागमै अवशेष भेटिएकाले थप अवशेष हुन सक्ने भन्दै उत्खनन कार्यलाई निरन्तरता दिइने बताइएको छ । उत्खननमा खटिएका मिलन चेनपुलीका प्रमुख, ‘टायर कान्छा’ नामले परिचित सन्तबहादुर श्रेष्ठले सबै भाग छुट्याएर निकाल्ने काम भइरहेको जानकारी दिए ।

तनहुँको मिलन चेनपुली कम्पनी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले चेनपुलीको सहायतामा उत्खनन गरिरहेको छ । गत पुस २७ गते स्थानीय एक व्यक्तिले माछा मार्ने क्रममा गाडीको अवशेष देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसयता बालुवा हटाउँदै अवशेष निकाल्ने काम भइरहेको छ ।

२०८१ असार २८ गते काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौं जाँदै गरेको प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस नारायणगढदेखि करिब २२ किलोमिटर पूर्व सिमलतालमा पहिरोमा बगेर त्रिशूली नदीमा खसेका थिए ।

दुवै बसमा सवार ६५ यात्रुमध्ये गणपति यातायातको बसका तीन यात्रु पौडेर बाँच्न सफल भएका थिए । बाँकी यात्रुहरू बससँगै बगेका थिए । दुर्घटनापछि केही शव फेला परे पनि बस भने लामो समयसम्म भेटिएको थिएन ।