पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ । सुर्खेतदेखि अमेरिकासम्मको यात्रा, सङ्घर्ष र सपनाको गन्तव्य पछ्याउन प्रेरित गर्ने उहाँको नियात्रा तथा स्मृतिसङ्ग्रह ‘घाटगाउँ’ मङ्गलबार विमोचन भएको हो ।
काठमाडौँको चियासागरमा पत्रकार तथा लेखक विवेकले आफ्ना साथी तथा पूर्वसहकर्मीका साथमा ‘घाटगाउँ’ पुस्तक सार्वजनिक गरे। सुर्खेतको चौकुने गाउँपालिका–९ घाटगाउँमा जन्मिएका उनले अध्ययन तथा सङ्घर्ष गर्दै अमेरिकासम्मको यात्रा तय गरेपछि आफ्नै मातृभूमिको नाममा ‘घाटगाउँ’ पुस्तक लेखे ।
पाँचपोखरी प्रकाशन गृहबाट प्रकाशित उक्त पुस्तकमा उनले आफ्नो स्कुले जीवन, उच्च शिक्षा पढ्दाको सङ्घर्ष, रेडियो तथा अनलाइन पत्रकारिताको उतारचढावसँगै पछिल्लो समय पर्यटन अभियानमा होमिँदाका आफ्ना चुनौतीपूर्ण भोगाइ समेटेको छ ।
पुस्तक बिक्रीबाट आएको सम्पूर्ण रकम आफ्नै गाउँको सरस्वती माध्यामिक विद्यालयमा पुस्तकालय निर्माणमा खर्च गर्ने विष्णुले जानकारी दिए । “सुर्खेतदेखि अमेरिकासम्म पुग्दाको यर्थाथ, सपना र सङ्घर्ष इमान्दारीपूर्वक पुस्तकमा लेखेको छु”, उनले भने, “सपनालाई माया गर्ने हरकोहीलाई यो पुस्तकको भोगाइ आफ्नै जस्तो लाग्नेछ ।”