Jun 28 2026

Jun 28 2026 | आइतवार, आषाढ १४ गते २०८३

पाठ्यपुस्तकको ‘स्यालसिंह’ कथा अब रंगमञ्चमा, कुञ्ज थिएटरमा मञ्चन सुरु

विद्यालयको कक्षा ८ को अनिवार्य नेपाली विषयमा समावेश दन्त्यकथा ‘स्यालसिंह’ अब रंगमञ्चमा जीवन्त बनेको छ। एक थिएटर नेपालले शुक्रबारदेखि थापागाउँस्थित कुञ्ज थिएटरमा यस नाटकको मञ्चन सुरु गरेको हो।

तीर्थराज विश्वकर्माको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकले पाठ्यपुस्तकमा समेटिएको कथालाई अभिनय, संवाद, प्रकाश, सङ्गीत र आकर्षक मञ्च संरचनामार्फत दर्शकमाझ प्रस्तुत गरेको छ।

नाटकको कथा सिंहको करुणाबाट ज्यान जोगाएको एउटा स्यालको जीवनमा आधारित छ। सिंहको संरक्षणमा हुर्किएको स्यालले देखाउने बाहिरी आडम्बर, झुटो प्रतिष्ठा र अहंकारलाई कथाको मुख्य विषय बनाइएको छ।

नाटकले व्यक्तिको वास्तविक मूल्य उसको चरित्र र कर्मबाट निर्धारण हुने सन्देश दिन्छ। स्यालको पात्रमार्फत देखावटी शक्तिको मोह, त्यसबाट उत्पन्न भ्रम र अन्ततः सत्यको उद्घाटनलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।

नाटकमा सोनम तामाङ, सविन थामी, विशाल शाही, सेर्मो तामाङ, सुस्मिता गुरुङ, प्रकाश कार्की र स्काई राईको अभिनय रहेको छ।

‘स्यालसिंह’ असार २३ गतेसम्म बुधबार बाहेक हरेक साँझ ५ः३० बजे कुञ्ज थिएटरमा मञ्चन हुनेछ। साथै, प्रत्येक शनिबार दिउँसो १ः३० बजे अतिरिक्त शो पनि प्रदर्शन गरिने आयोजकले जनाएको छ।