Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

राष्ट्र संघको अबेइ मिशनको फोर्स कमाण्डरमा बलाध्यक्ष रथी श्रेष्ठ नियुक्त

संयुक्त राष्ट्र संघको अन्तरिम सुरक्षा फोर्स फर अबेइको फोर्स कमाण्डरमा  बलाध्यक्ष रथी गणेश कुमार श्रेष्ठ नियुक्त भएका छन् ।  फोर्स कमाण्डरमा नियुक्त भएका बलाध्यक्ष रथी गणेश कुमार माघ ०३ गते मिसन इलाकातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

राष्ट्र सङ्घका महासचिव एन्टोनीयो गुटरेसले गत मङ्सिर १६ गते रथी श्रेष्ठलाई उक्त मिसनको फोर्स कमाण्डरमा नियुक्त गरेका हुन् । संयुक्त राष्ट्र सङ्घीय विभिन्न शान्ति मिसनहरूमध्ये अबेइ मिसनमा नेपाली सेनाले पहिलो पटक फोर्स कमाण्डरको नियुक्त प्राप्त गरेको हो।

यस अघि सन् १९९३ बाट विभिन्न मितिमा नेपाली सेनाका सात जना उच्च सैनिक पदाधिकारीहरूले संयुक्त राष्ट्र सङ्घ अन्तर्गत रही विभिन्न पाँच वटा शान्ति मिसनहरूमा फोर्स कमाण्डरको जिम्मेवारी सफलतापूर्वक पुरा गरी सकेका छन् ।

संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनहरूमा प्राप्त यस किसिमको जिम्मेवारीले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीको छवि उच्च पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।