Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता कायम

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा पाँच लाख ८० हजार ९४५ जना मतदाता कायम भएका छन् । जिल्लाका १२ स्थानीय तहमध्येबाट दुई लाख ९४ हजार २५२ पुरुष, दुई लाख ८६ हजार ६९१ महिला र दुई जना तेस्रो लिङ्गी मतदाता कायम भएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभाका लागि चार निर्वाचन क्षेत्र तोकिएका छन् । जिल्लाभर जम्मा १६७ मतदानस्थल र ६२४ मतदान केन्द्र निर्धारण गरिएको कार्यालयका प्रमुख कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी निर्वाचन क्षेत्र नं २ मा एक लाख ५६ हजार ९९० मतदाता छन् भने सबैभन्दा कम एक लाख ३४ हजार ३०२ मतदाता कायम भएका छन् ।

निर्वाचन आयोगका अनुसार मतदाता नामावली अद्यावधिकपछि उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षालगायत तयारीका कार्यक्रम अघि बढाइएको जिल्ला निर्वाचन कार्यालय प्रमुख पौडेलले बताए ।

आगामी निर्वाचनका लागि सङ्घीय सरकारले सुनसरीमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरू खटाइसकेको छ । प्रकाश राउतलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । उनले हाल सुनसरी जिल्ला अदालतमा जिल्ला न्यायाधीशका रूपमा कार्यरत छन् । निर्वाचन अधिकृतका रूपमा दिव्यराज घिमिरे, राजेन्द्रकुमार लम्साल र पदमबहादुर कार्कीलाई तोकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख पौडेलले जानकारी दिए ।