Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

नेपाली कांग्रेसमा महाधिवेशनका विषयमा तीव्र मतभेद, दुई पक्ष आमनेसामने

नेपाली कांग्रेसभित्र आसन्न महाधिवेशनको मिति र प्रकृयालाई लिएर तीव्र मतभेद देखिएको छ। पार्टीभित्र सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको इतर समूहबीच गहिरो असहमति चर्किएको हो।

संस्थापन पक्षले सरकारले घोषणा गरेको फागुन २१ गतेको आम निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने अडान लिएको छ भने इतर समूहले मंसिरभित्रै महाधिवेशन सम्पन्न गर्न नसके विशेष महाधिवेशन बोलाउनुपर्ने माग अघि सारेको छ।

महामन्त्रीद्वय थापा र शर्माले नेतृत्व गरेको समूहको हस्ताक्षरमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी भएका थिए। तर संस्थापन पक्षले सो हस्ताक्षरलाई “दबाबमा गरिएको” भन्दै अस्वीकार गरेको छ।

सभापति देउवा भदौ २४ गते निवासमै भएको आक्रमणपछि उपचारका लागि सिंगापुर गइसकेका छन्। त्यसअघि उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। देउवा अनुपस्थित रहे पनि पार्टीभित्र आन्तरिक ध्रुवीकरण झन् गहिरिँदै गएको देखिन्छ।

पार्टीभित्र भएको पछिल्लो छलफलमा पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच सहमति जुट्न सकेको छैन।
एक केन्द्रीय सदस्यका अनुसार, थापाले मंसिरभित्रै महाधिवेशन गर्ने कार्यतालिका ल्याउन जोड दिएका थिए भने खड्काले संस्थापन पक्षको भेलाले दिएको सन्देश सुनाउँदै “केही दिन पर्खन” सुझाएका थिए।

छलफलको क्रममा क्रियाशील सदस्यता विवादबारे पनि मतभेद देखिएको थियो। थापाले तत्काल समाधान खोज्नुपर्ने धारणा राखेपछि खड्काले “बोल्ने पालोमा मात्र कुरा राख्न” भनेका थिए, जसपछि नोकझोकसमेत भएको स्रोतले जनाएको छ।

यसैबीच, कार्यवाहक सभापति खड्काले शुक्रबारको बैठक बिहान ११ बजे बोलाउने तयारी गरे पनि, महामन्त्रीहरूसँग सहमति नजुटेकाले बैठक अनौपचारिक रूपमा दिउँसो १ बजे सारिएको बताइएको छ।

पार्टीभित्र अहिले महाधिवेशन बनाम निर्वाचन प्राथमिकताको विषयमा गहिरो बहस चलिरहेको छ। संस्थापन पक्षले “पहिले निर्वाचन, पछि महाधिवेशन” भन्ने अडान लिएको छ भने इतर समूहले “पहिले संगठन, पछि निर्वाचन” भन्ने तर्क अघि सारेको छ।

कांग्रेसभित्र बढ्दो आन्तरिक तनावले निकट भविष्यमा विशेष महाधिवेशन वा असमयको नेतृत्व परीक्षणतर्फ स्थिति पुग्ने अनुमान गरिएको छ।