Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगे रेशम चौधरी

नयाँ राजनीतिक पार्टी दर्ताका लागि रेशम चौधरी नेतृत्वको टोली बिहीबार निर्वाचन आयोग पुगेका छन् । टोली एउटै पोसाकमा आयोगको कार्यालयमा उपस्थित भएका थिए ।

चौधरीले नागरिक उन्मुक्ति पार्टीबाट अलग भएर नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक नयाँ पार्टी दर्ता गर्न आयोग पुगेका हुन् । निर्वाचन आयोगमा टोलीले दल दर्ताका लागि आवश्यक कागजात पेश गरेको जनाइएको छ। पार्टीको अध्यक्षमा कबीर सोप रहनेछन् ।

चौधरीसँग डा. सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खान पनि आयोग पुगेका छन् । अब्दुलसँगै पाँच जना केन्द्रीय नेताले गत असोजको पहिलो साता जनमत छोड्ने निर्णय गरेका थिए ।

टीकापुर घटनापछि भूमिगत रूपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैँ संरक्षण भएर पार्टी खोलेका थिए । उनले २०७८ पुसमा जेलभित्रै बसेर पार्टी गठन गरेका थिए।

उनी २०७२ भदौ ७ गतेको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका थिए । गम्भीर प्रकृतिको फौजदारी कसुर प्रमाणित भई कारावास रहेका बेला पार्टी खोलेकाले उनी अध्यक्ष बन्न पाएका थिएनन् । त्यसैले उनले पत्नी रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएका थिए।

२०८० जेठमा राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैद माफी पाएपछि उनले त्यही पुसमा पहिलो अधिवेशन गरेर अध्यक्ष निर्वाचित गरेका थिए। तर निर्वाचन आयोगले उनी नेतृत्वको नयाँ कार्यसमिति अद्यावधिक गरिदिएन ।

गत साउन १४ गते राष्ट्रिय भेला गरेर पत्नी श्रेष्ठलाई अध्यक्षबाट हटाएर बाबु लालवीरलाई पार्टी नेतृत्वमा ल्याए पनि निर्वाचन आयोगले उक्त कमिटी पनि अद्यावधिक नगरेपछि उनले नयाँ पार्टी गठनको गृहकार्य थालेका थिए ।