Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

केपी शर्मा ओलीका नाममा ‘ओली कुटी’ बन्ने

‘जेनजी आन्दोलन’का क्रममा बालकोटस्थित निवासमा आगजनी भएपछि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीका नाममा ‘ओली कुटी’ निर्माण गरिने भएको छ।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार भक्तपुरको गुण्डुमा अध्यक्ष ओलीका लागि नयाँ घर ‘ओली कुटी’ निर्माण गर्ने संकल्प गरिएको हो। उनले स्थानीयवासीको पहलमा निर्माणको तयारी थालिएको र आफू संयोजकका रूपमा जिम्मेवारी लिने बताएका छन्।

बस्नेतले भने, “गुण्डुमा ‘ओली कुटी’ निर्माणको संकल्प गरिएको छ। अहिले नै फोटो र डिजाइन संकलन सुरु भइसकेको छ र देशभरबाट सुझाव तथा समर्थन आइरहेको छ।”

ओलीको बालकोट निवास जल्यो, नयाँ बसोबास गुण्डुमा

पूर्व प्रधानमन्त्री ओली संविधान दिवसका दिन भक्तपुरको गुण्डुस्थित भाडाको घरमा बसाइँ सरेका हुन्। यसअघि ‘जेन–जी आन्दोलन’का क्रममा आगजनीबाट उनको बालकोटस्थित निवास पूर्णरूपमा जलेको थियो।

ओलीले आगलागीपछि बालकोट निवास मर्मत नगर्ने निर्णय गर्दै उक्त घरलाई आफ्नो निधनपछि संग्रहालयका रूपमा राज्यलाई हस्तान्तरण गर्ने प्रक्रिया पहिले नै सम्पन्न भएको स्मरण गराएका थिए।

उनका अनुसार बालकोटका दुवै घर श्रीमती राधिका शाक्यले राष्ट्र बैंकमा ३३ वर्ष जागिर खाएर निर्माण गरेको सम्पत्ति हो। “यी घरहरू हाम्रो निजी सम्पत्ति होइनन्। हाम्रो निधनपछि सार्वजनिक हुने गरी पास भइसकेका थिए,” ओलीले भने।

ओलीको आरोप र आन्दोलनबारे टिप्पणी

अध्यक्ष ओलीले गृहमन्त्री ओमप्रकाश अर्यालले आफूविरुद्ध व्यक्तिगत द्वेष राखेको आरोप लगाएका छन्। उनले जेनजी आन्दोलनको आवरणमा देशविरुद्ध गम्भीर षड्यन्त्र गरिएको दाबी गर्दै भने, “सरकारी, सार्वजनिक र निजी सम्पत्तिमा आगजनी गर्नेहरू आपराधिक समूह हुन्, तर सरकारले कारबाही गर्न सकेको छैन।”

उनका अनुसार आन्दोलनका नाममा भएका लुटपाट र हिंसात्मक गतिविधिमा स्थानीय तत्त्व संलग्न थिए, तर सरकारले प्रभावकारी अनुसन्धान गर्न नसकेको दाबी गरे।

ओलीकी धर्मपत्नी राधिका शाक्यले पनि खण्डहर बनेको घर अवलोकन गरेकी थिइन्। उनले भनेकी थिइन्, “हाम्रो सपना थियो- यो घर भविष्यमा संग्रहालयका रूपमा रहनेछ। तर अहिले त्यो सपना खरानीमा परिणत भएको छ।”