नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी तथा पार्टीको सचिवालय सदस्य गंगा दाहालले आफ्नो पदबाट राजीनामा दिएकी छन्।
राजीनामाको घोषणा गर्दै दाहालले आफूमाथि निरन्तर भइरहेको आलोचनालाई कारण देखाएकी छिन्। उनले भनिन्, “निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले गर्दा मैले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छु।”
उनले आफू पार्टीकी जिम्मेवार कार्यकर्ता भएकाले भविष्यमा पनि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाइन्। "पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा क्रियाशील रहनेछु," दाहालले भनिन्।
राजीनामा सन्दर्भमा सचिवालयमा रहँदा पार्टी नेताहरू, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति आभार पनि व्यक्त गरेकी छिन्। साथै, आफ्ना बारेमा केही सञ्चारमाध्यममा आएको ‘भ्रामक समाचार’प्रति ध्यानाकर्षण गराउँदै उनले तथ्यपरक पत्रकारिताको आग्रह गरेकी छिन्।
उनले लेखेकी छिन्: नमस्कार मेरा बारेमा पछिल्लो समयमा बिभिन्न संचार माध्यममा आएका भ्रामक समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको छ । म, बुवा (नेकपा माओवादी केन्द्रका संयोजक कमरेड प्रचण्ड) को सचिवालयमा भाइ प्रकाश दाहालको देहवसान पछि मम्मी सीता दाहाल बिरामी हुनुभएको अवस्थामा जिम्मेवारी लिएर आए । मम्मीको हेरचाह पनि गर्नुपर्ने र भाइ प्रकाशले निभाउँदै आएको भुमिकामा रहेर अध्यक्षलाई सहयोग गर्न पार्टी नेताहरुको सल्लाहमा सचिवालयमा रहेर निस्वार्थ भावमा पार्टी आन्दोलन र बुवाको लागि आफुले सकेको सहयोगको कोशिस गरिरहे । यस दौरानमा सवैको भावना अनुसार काम गर्न सकिन होला त्यसका लागि आत्मआलोचित हुँदै यति चाही म गर्वका साथ भन्छु मैले आफ्ना लागि सोचेर कहिले पनि काम गरिन । सधै सहयोगीका रुपमा राम्रो गर्ने कोशिस गरिरहे। तर दुख लाग्छ, यो ठाउ नै त्यस्तै होकी जति राम्रो गर्छु भन्दा पनि, जति नै बिवादरहित भएर काम गर्छु भन्दा पनि बिवादमा त परिहालिने रहेछ। । म, मेरा दिदीहरू र भाइलाई महान जनयुद्धको समयमा राज्य सत्ताले निरन्तर दुःख दिएका कारण पढाइबाट वञ्चित भएरै पार्टीमा निरन्तर लागिरहियो। कुप्रचार र भ्रामक सूचना दिनेहरूले मेरा बारेमा निरन्तर प्रहार गर्दै सञ्चार माध्यमको पनि चरम दुरुपयोग गरिरहेका छन्। कहिले कति लाखको ब्याग भनिदिएको छ, कहिले कति लाखको घडी । एक लाख पर्ने घडी, ब्याग जिन्दगीमा कहिले पनि किनेको छैन । साथीभाइले जन्मदिनको अवसरमा दिएको उपहार थियो, सक्कली थियो कि नक्कली त्यो पनि जलेर खरानी भैसक्यो । अझै पनि त्यही कुरा ल्याएर प्रहार भइराखेको छ ।
निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिदा नै बुवा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निस्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजिनामा दिएको छु । पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहनेछु। सचिवालयमा रहँदा पार्टीका नेता, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु।
अन्तमा, दिपावलीको दिप जस्तै तपॉईहरुको जीवन उज्यालो बनोस्, सबैमा दिपावली, छठ, नेपाल संवतलगायत पर्वको हार्दिक शुभकामना धन्यवाद !