रोमानियाको टेटेरानी शहरस्थित तीनतले होटलमा आगलागी हुँदा दुई नेपाली युवतीको मृत्यु भएको छ।
जर्मनस्थित नेपाली दुतावासका अनुसार सेप्टेम्बर २९ मा प्राहोभा होटलमा आगलागी भएको थियो। यस घटनामा इलामको माई नगरपालिका–७ की २१ वर्षीया सोनी लिम्बु र काठमाडौंको दक्षिणकाली नगरपालिका–९ की २४ वर्षीय सुस्मिता तामाङको मृत्यु भएको दुतावासले जनाएको छ।
आगलागीका क्रममा उद्दार प्रयास गर्दा चुलाचुली–३, इलामकी २२ वर्षीय सुमिना मगर घाइते भएकी थिइन्। उनको बुधबार अस्पतालबाट डिस्चार्ज भएको जनाइएको छ।
पीडित युवती सोनी एक वर्षअघि र सुस्मिता पाँच महिना अघि उक्त होटलमा काम गर्न गएकी थिइन्। होटलमा कार्यरत म्याग्दीका नारायणबहादुर विकले बिहान ७ बजे आगलागी सुरु भएको बताए।
स्थानीय प्रशासनका अनुसार, आगलागी अघि उक्त होटलले सुरक्षा मापदण्ड पालना नगरेको भन्दै एकलाख रोमानियन जरिवाना लगाएर बन्द गरिएको थियो। नेपाली दुतावासका उपप्रमुख सागर फुयालले पीडित परिवार, रोजगारदाता र रोमानियाली सरकारसँग समन्वय भइरहेको जानकारी दिएका छन्।