Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

पूर्वमन्त्री पोखरेलको ‘कम्युनिष्ट पार्टी निर्माण’ आज सार्वजनिक गरिँदै

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री आनन्द प्रसाद पोखरेलको ‘कम्युनिष्ट पार्टी निर्माणका आधार’ नामक पुस्तक आज लोकार्पण गरिने भएको छ । नेकपा एमाले जिल्ला कमिटी काठमाडौंले आज सोमबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा विशेष कार्यक्रम आयोजना गरी उक्त पुस्तक लोकार्पण गर्न लागेको हो । नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चको व्यवस्थापनमा आयोजना हुने कार्यक्रम आज बिहान ११ बजदेखि सुरू हुने बताइएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा पार्टी महासचिव एवम् लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेल सहभागी हुने र उनैले सो पुस्तक लोकार्पण गर्ने नेकपा एमाले जिल्ला कमिटी काठमाडौंका अध्यक्ष दीपक निरौलाले जानकारी दिए । उनका अनुसार पुस्तकको टिप्पणी गर्न पार्टीका उपमहासचिव एवम् स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली सहभागी हुने छन् ।

नेपाली बाम आन्दोलन, सङ्गठन निर्माण, वैचारिक विकास, जनवादी अभ्यास र आफ्नो अनुभवका आधारमा उक्त पुस्तक तयार पारिएको लेखक आनन्द प्रसाद पोखरेलले बताए । उनले यो पुस्तक व्यक्तिगत प्रयास मात्र नभइ सामूहिक संलग्नता, वैचारिक सहकार्य र समर्पणको साझा अभिव्यक्ति भएको पनि बताएका छन् ।

निरङ्कुश राजतन्त्र र निर्दलीय अन्धकार चिर्दै आमूल परिवर्तनका लागि जीवनमरणको बाटो हिँडेका कम्युनिष्ट अग्रजहरू, वर्ग सङ्घर्षको आँधीबेहरीमा सहादत प्राप्त गर्ने सहिदहरू र समाज रुपान्तरणका स्वप्नद्रष्टा क्रान्तिकारी योद्धाहरू तथा न्यायप्रेमी जनताप्रति आफ्नो पुस्तक समिर्पित रहेको उनले जानकारी दिए ।

पुस्तकमा कम्युनिष्ट पार्टी निर्माणको आधारदेखि सामन्ती अवशेषको अन्त्य र समाजवादको आधार निर्माणसम्मका विषयवस्तुलाई सशक्त ढङ्गबाट प्रस्तुत गर्ने प्रयत्न गरिएको लेखक पोखरेलको भनाइ छ ।