Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

कोदारी राजमार्ग अवरुद्ध, ६ सय ‘कन्टेनर’ सीमापारि

पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल बोकेका ६०० कन्टेनर मितेरी पुलपारि रोकिएका छन्। भोटेकोशी गाउँपालिका–२ इकुमा लेदोसहितको पहिरो खसेको १२ दिन भयो।

पहिरो पन्छाउन नसक्दा सवारी साधन मात्र होइन पैदल हिँड्न पनि कठिन भएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले बताए । करिब दुई किलोमिटर क्षेत्र पहिरोले ढाकेको छ। कन्टेनरका सामान भरियालाई बोकाएर पहिरो कटाउन थालिएको जानकारी दिँदै उनले पहिरो पन्छाउने प्रयास सरकारीस्तरमा नभएको गुनासो गरे ।

यसैबीच, चरिकोटस्थि सडक डिभिजन कार्यालयका प्रमुख अमितकुमार श्रेष्ठले निरन्तर लेदो बगेर सडक अवरुद्ध भएको र त्यो रोकिना साथ भारी उपकरण प्रयोग गरेर बाटो खोलिने प्रतिबद्धता व्यक्त गरेका छन् । अर्बौंको लागतमा मर्मत सम्भार र कालोपत्र गरिएको बसेरी–लिपिङ पुरानै अवस्थामा फर्किँदा स्थानीय र यात्रु आजित छन् ।

उता, कोदारी बजारछेउको इको क्षेत्रमा ३० मिटरभन्दा बढी सडक भासिएर भोटेकोशीमा मिसिँदा चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी १२ दिनदेखि अवरुद्ध छ । पहिरो रोकथाममा प्रभावकारी काम नभएकाले व्यापारीहरूले नासिने फलफूलदेखि मेसिनरीसम्मका सामान भरियामार्फत भित्र्याइरहेका छन् । चीनसँगको व्यापारिक नाका अवरुद्ध हुँदा व्यापारीले भरियामार्फत सामान भित्र्याउन बाध्य भएका छन् ।