बलिवुडको साजिद नाडियाडवालाको बहु-स्टारर फिल्म 'हाउसफुल ५' ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । एक दर्जनभन्दा बढी स्टारहरू भएको यो कमेडी फिल्मले रिलिजको दोस्रो सातामा पनि राम्रो कमाई गरिरहेको छ ।
पहिलो सातामा १३३ करोड ५८ लाख भारु कमाई गरेको थियो भने दोस्रो सातामा २९ करोड ११ लाख कमाई गरेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिजको दोस्रो आइतबार १२ करोड ३० लाख कमाई गर्दै अहिलेसम्म १६२ करोड ६९ लाख कमाई गरेको छ ।
फिल्मले ओटीटी अधिकार ७५ करोडमा बिक्री गरेको छ भएन सेटेलाइट अधिकार ४० करोडमा, म्युजिक राइट २० करोडमा बिक्री गरेर १३५ करोड कमाई सकेको छ ।
'हाउसफुल ५' मा २० भन्दा बढी कलाकारहरू देखिएका छन्, जसमा अक्षय कुमार, रितेश देशमुख, संजय दत्त, अभिषेक बच्चन, नाना पाटेकर जस्ता दिग्गज कलाकारहरू समावेश छन् । सोनम बाजवा, नरगिस फाखरी, ज्याकलिन फर्नान्डेज र चित्रांगदा सिंह पनि महत्वपूर्ण भूमिकामा छन् । फिल्म तरुण मनसुखानीद्वारा निर्देशित र साजिद नाडियाडवालाले निर्माण गरेको हो ।
साढे २ सय करोडमा बनेको हाउसफुल ५ लाई भारतीय सिनेमाको अहिलेसम्मको सबैभन्दा ठूलो कमेडी फिल्म भनिएको छ । फिल्मको प्रचार पनि एकदमै अनौठो तरिकाले गरिएको छ, जसले दर्शकहरूलाई जिज्ञासु बनाएको छ । एकातिर अक्षय कुमार यो फिल्मबाट फेरि एक पटक बक्स अफिसको बादशाह बन्ने अपेक्षा गरिएको छ ।