Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

वातावरण दिवसको अवसरमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले रोप्यो ७ सय बढी विरुवा

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले विश्व वातावरण दिवस २०२५ को अवसरमा वृहत वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । बैंक्ले आयोजना गरेको उक्त आयोेजनामा बैंकका ३५० भन्दा बढी कर्मचारीको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रमअन्तर्गत फलफूल, फूलफुल्ने तथा छायाँ दिने गरी २० भन्दा बढी जातका ७ सयभन्दा बढी बिरुवाहरू रोपिएका छन् । हरियाली प्रवर्द्धन, जैविक विविधता संरक्षण तथा वातावरणीय दिगोपनामा सकारात्मक प्रभाव पार्ने उद्देश्यसहित सञ्चालन गरिएको यस अभियानले दीर्घकालीन वातावरणीय सन्तुलनमा योगदान पुर्‍याउने विश्वास बैंकले लिएको छ।

वृक्षारोपणको औपचारिक सुरुआत बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोरख राणा, डेपुटी सीईओ सर्वेन्द्र मिश्र तथा विद्यालयका उपप्रधानाध्यापक पेम्बा छिरिङ शेर्पाले संयुक्त रूपमा गरेका थिए । यस अवसरमा उनीहरूले विगत वर्ष रोपिएका बिरुवाहरूको समेत निरीक्षण, सफाइ तथा संरक्षण कार्यमा सहभागिता जनाएका थिए।

बैंकले प्रत्येक वर्ष वातावरण दिवसको सन्दर्भमा विभिन्न हरित गतिविधिहरू सञ्चालन गर्दै आएको छ । यस वर्षको अभियानमा वृक्षारोपणसँगै, कर्मचारीहरूमाझ वातावरणप्रति सचेतना अभिवृद्धि गर्न विविध संवाद र सरसफाइ गतिविधिहरूसमेत सञ्चालन गरिएको थियो ।