नेपाल राष्ट्र बैङ्कको १८ औँ गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मङ्गलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा पौडेललाई नियुक्त गरेको हो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मङ्गलवार नै तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो । पौडेलसहित कामु गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो । सिफारिस भएका तीन नाममध्ये पहिलो नम्बरमा रहेका पौडेललाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गरेको हो ।
२०३२ सालमा चितवनको रत्ननगर नगरपालिकामा पौडेलको जन्म भएको हो । उनले अमेरिकाको क्यालिफोर्निया विश्व विद्यालयबाट विद्यावारिधी गरेका हुन् । उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, इन्टरनेशनल सेन्टर फर इन्ट्रिग्रेटेड माउन्टेन (इसिमोड)को सञ्चालक समितिको अध्यक्ष भएका समेत काम गरेका थिए ।
त्यस्तै, कोलम्बो प्लान काउन्सिलको अध्यक्ष भएर समेत काम गरेका छन् । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं. १ मा नेपाली कांग्रेसकोतर्फबाट उमेदवार बनेका उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकालसँग पराजित भएका हुन् । निर्वाचन आयोगको तथ्यांकअनुसार, पौडेलले २५ हजार २२ मत पाएका थिए ।