Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

विश्व पौडेलविरुद्धको निवेदन न्यायाधीश मल्लको इजलासमा

अर्थशास्त्री विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट दरपीठविरुद्धको निवेदन न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ।

अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दायर गरेको उक्त निवेदनमा पौडेलको नियुक्ति नेपाल राष्ट्र बैंक ऐन, २०५८ को विपरीत हुने भएको दाबी गरिएको छ। पौडेलले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएपछि उनलाई गभर्नर बनाउने तयारीबीच यो विषय अदलतमा प्रवेश गरेको हो।

पौडेल नेपाली कांग्रेसको महासमिति सदस्य र निर्वाचनमा पराजित उम्मेदवार भएकोले राजनीतिक संलग्नताका कारण गभर्नर बन्न अयोग्य रहेको तर्क समेत गरिएको छ। सर्वोच्चले वैशाख ३० गते दायर रिट जेठ २ गते ‘अपरिपक्व’ भन्दै दरपीठ गरेको थियो।

दरपीठविरुद्ध उप्रेती र थापाले पुनः निवेदन दर्ता गराएका हुन्, जसको सुनुवाइ मंगलबारका लागि तोकिएको छ। उनीहरूले दरपीठको निर्णय खारेज गरी रिट दर्ता गर्न माग गरेका छन्।