Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

बसले भ्यानलाई ठक्कर दिँदा एक युवतीको मृत्यु, आठ घाइते

पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको रानीगञ्जमा आज म्याजिक बसले भ्यानलाई ठक्कर दिँदा भ्यानमा सवार एक युवतीको मृत्यु भएको छ भने, आठ जना घाइते भएका छन्।

लालबन्दी बजार आउँदै गरेको ना ६ ख ७२२७ नम्बरको यात्रुवाहक भ्यानलाई लालबन्दी नगरपालिका–१७ स्थित रानीगञ्जमा विपरित दिशाबाट आएको ना १ ज २६४५ नम्बरको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट भ्यानमा सवार लालबन्दी नगरपालिका–१७ ठेगाना भएकी २२ वर्षीया सोना पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटना लगतै उद्धार गरी उपचारका लागि लालबन्दी मोडेल अस्पताल पुर्‍याए पनि युवतीलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए। भ्यानमा सवार थप आठ जना घाइते भएका छन् । उनीहरूको लालबन्दीको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। 

दुर्घटना लगत्तै बस चालक फरार रहेको र खोजी भइरहेको प्रनाउ राईले बताए। दुर्घटनामा संलग्न दुवै सवारी प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।