Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

अनधिकृत पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्ट एक लाख धरौटीमा रिहा

अनधिकृत रूपमा जिल्ला प्रहरी परिसरलाई पत्र लेखेर नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई जेल पठाउने महिमानसिंह विष्ट एक लाख धरौटीमा रिहा भएका छन् ।

 रेशम चौधरीलाई चार घण्टाका लागि डिल्ली बजार जेल पठाउने गरी पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीनबन्धु बरालको इजलासले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । उनी सोमबार नै धरौटी बुझाएर रिहा भएका छन् । विष्टले गत वैशाख १७ गते अनधिकृत रूपमा जिल्ला प्रहरी परिसरलाई पत्र लेखेपछि रेशमलाई प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरेर डिल्लीबजार कारागार चलान गरिएको थियो । उक्त पत्र लिएर उनी आफैँ जिल्ला प्रहरी परिसर काठमाडौं पुगेपछि प्रहरीले रेशमलाई तत्कालै पक्राउ गरेर डिल्ली बजार जेल चलान गरेको थियो ।

तर विष्टले लेखेको पत्र नै अनधिकृत भएको पुष्टि भएपछि रेशम चार घण्टापछि वैशाख १७ गते साँझ डिल्ली बजार जेलबाट रिहा भए । पत्र अनधिकृत रहेको पुष्टि भएलगत्तै सर्वोच्च अदालत प्रशासनले महिमानलाई प्रहरीको जिम्मा लगाएको थियो। उनले टीकापुर हत्याकाण्डका पीडितको आत्मालाई शान्ति दिन उक्त पत्र लेखेको बयान दिएका थिए ।