Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

आफ्नै ‘रेकर्ड’ तोड्दै गोरखाकी पूर्णिमा श्रेष्ठ पाँचौं पटक सगरमाथा शिखरमा

गोरखाकी पूर्णिमा श्रेष्ठले पाँचौँ पटक सगरमाथाको शिखर चुमेकी छिन्। आइतबार बिहान ३ः३७ बजे पाँचौ पटक सगरमाथाको सफल आरोहण गरेकी हुन्।

चौथो शिविरबाट शनिबार साँझ ७ बजे प्रस्थान गरेकी उनले बिहान ३ः३७ बजे शिखरमा पाइला टेकेकी आरोहण व्यवस्थापन गरेको कम्पनी सतोरी एड्भेञ्चर प्रालिले जानकारी दिएको छ। नेवार समुदायबाट सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने उनै कहलाएकी सो कम्पनीका ऋषि भण्डारीले जानकारी दिए ।

उनी अहिले दोस्रो आधार शिविरतिर फर्किदै गरेको उनले जानकारी दिए । यसअघि गत वर्ष यही सिजनमा १२ मे, १९ मे र २५ मेमा उनले दुई हप्ताको अन्तरालमा तीन पटक सगरमाथा आरोहण गरी रेकर्ड कायम गरेकी थिइन्।

त्यसअघि उनले २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् । आठ हजार मिटरभन्दा अग्लो १४ वटा हिमाल आरोहण गरिसकेकी उनले दोस्रो अग्लो माउण्ट केटु, ल्होत्से, मनास्लु, अन्नपूर्ण, धौलागिरी लगायतका हिमाल आरोहण गरेर विभिन्न शीर्षकका कीर्तिमान कायम गरिसकेकी छन्।