Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

ललितपुरमा कारको ठक्करबाट ११ हजार भोल्टको करेन्ट प्रवाह हुने बिजुलीको पोल ढलेपछि...

मादक पदार्थ सेवन (मापसे) गरेका एक कार चालकको ठक्करबाट बिजुलीको पोल भाँचिएर बीच सडकमा पुग्दा सातदोबाटो–हात्तीवन सडक खण्डको यातायात आवागमन लामो समयसम्म बन्द गर्नु परेको छ । ११ हजार भोल्टको करेन्ट प्रवाह हुने बिजुलीको तार टाँगिएको पोल नै सडकको बीच भागमा रहेकाले सवारी आवागमन बन्द गरिएको हो ।

ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा गएराति यो घटना भएको हो । यो दुर्घटनामा म्याग्दी घर भएका ४० वर्षीय अमरध्वज पौडेल, ललितपुर गोदावरीका ३२ वर्षीय विशाल विक र सोही ठाउँका २९ वर्षीय मोसेफ लामिछाने घाइते भएका छन् । पाटन अस्पतालमा उपचाररत उनीहरूमध्ये विकको अवस्था गम्भीर छ । 

प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, उनको आईसीयूमा उपचार भइरहेको छ । कार भने रूपक सापकोटाले चलाएका थिए । चालकले मापसे गरेर गाडी चलाएको पाइएकाले नियन्त्रणमा लिएर छानबिन गरिरहेको प्रहरीले जनाएको छ ।

ललितपुर प्रहरीका अनुसार राति ११ बजेर १० मिनेट जाँदा ललितपुर हात्तीवनमा बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा कारको अगाडिको भाग क्षतिग्रस्त भएको छ । तीव्र गतिमा रहेको कार आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको अनुमान छ ।