सरकार र नेपाल शिक्षक महासंघबीच आज अपराहन्न २ बजे वार्ता हुने भएको छ ।
गएराती सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता सहमति नजिक पुगेपछि आज हुने वार्ता 'निर्णायक वार्ता' बनाउन दुवै पक्ष तयारीमा रहेको बुझिएको छ । गएरातीको वार्तामा सरकार र शिक्षकहरुबीच पुर्व शिक्षामन्त्री विद्या भट्टराईले तयार गरेको सात बुँदे प्रस्ताव वरिपरीनै सहमति हुन लागेको बताइएको छ ।
यसअघि मंगलबार राति भएको वार्तामा महासंघले ९ बुँदे प्रस्ताव पेस गरेको छ । सो प्रस्तावमाथि आज छलफल हुने बताइएको छ । मन्त्रिपरिषद्बाट ९ बुँदे पास भएमा आन्दोलनको मोडालिटी फेर्ने महासंघका नेताले बताउँदै आएका छन् ।
मंगलबार रातिको वार्तामा सरकारका तर्फबाट शिक्षामन्त्री रघुजी पन्त, शिक्षा सचिव दीपक काफ्ले, वार्ता संयोजक कृष्णप्रसाद काप्रीले सहभागिता जनाएका थिए भने शिक्षक महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, महासचिव तुला थापा, सहअध्यक्ष नानुमैयाँ पराजुली र अर्थ उपमहासचिव मदनराज जोशी सहभागी रहेका थिए ।
त्यस्तै यस वार्तामा केहि समयका लागि अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी रहेका थिए । शिक्षामन्त्री रघुजी पन्तले पनि वार्ता सकारात्मक भएको र आज टुंगोमा पुग्ने बताएका थिए ।