Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

मन्त्रीले लोडसेडिङ हुँदैछ भनेपछि कुलमानको प्रतिक्रियाः छैन, हुँदा पनि हुँदैन

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दिपक खडकाले आज (बुधबार) संसद वैठकमा दिएको अभिव्यक्तिको खण्डन गरेका छन् । मन्त्री खडकाले आज राष्ट्रियसभा बैठकमा बोल्दै भारतबाट विद्युत आपूर्ति रोकिएसँगै अब साँझको समयमा लोडसेडिङ हुने बताएका थिए । खड्काले अहिले पनि ८२५ मेगावाट विद्युत भारतबाट आयात भइरहेको र हामीसँग पुग नपुग १ हजार मेगावाट विद्युत छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने उनको भनाइ थियो ।

तर कार्यकारी निर्देशक घिसिङले मन्त्रीको घोषणालाई खण्डन गर्दै लोडसेडिङ अहिले पनि नभएको र अब पनि नहुने प्रतिक्रिया दिएका हुन् । राति पूरै पावरप्लान्टहरु चल्ने र दिउँसो भारतबाट आयात भइरहेकाले लोडसेडिङ नहुने उनले स्पष्ट पारेका छन् । एक हजार मेगावाट बढीका आयोजना राति पूर्ण क्षमतामा चल्ने भएकाले पनि लोडसेडिङ हुने अवस्था नरहेको घिसिङको भनाइ छ । ‘कुलेखानी, माथिल्लो तामाकोशी, मध्यमर्स्याङ्दी, मर्स्याङ्दी, चिलिमे, साञ्जेनजस्ता धेरै आयोजनाहरु राति चल्छन्’, उनले थपे, ‘करिब करिब १००० मेगावाटका आयोजना पिकआवरमै फुल क्यापासिटीमा चल्छ । १००० प्लस रनअफ रिभर गरी १६-१७ सय मेगावाट आयोजना चल्छ ।’

यस्तो अवस्था रहेकाले लोडसेडिङ हुने हल्लामा नदौडिन उनको आग्रह छ । कार्यकारी निर्देशक घिसिङका अनुसार नेपालमा पिक टाइममा करिब १८/१९ सय मेगावाट बिजुलीको माग हुन्छ। तर त्यसलाई प्राधिकरणले आवश्यक व्यवस्थापन मिलाएको उनको भनाइ छ ।

उनले भने, ‘केही उद्योगलाई हामी पिक टाइममा चलाउन दिँदैनौं । त्यति हुँदा हामीलाई बिजुली मज्जाले पुग्छ।’ ऊर्जामन्त्री खड्काले भने भारतबाट बिजुली आयात गरेर कृत्रिम रुपमा लोडसेडिङ अन्त्य गरिएको जिकिर गर्दै अब आयातलाई थेग्न सक्ने अवस्था नभएको दाबी गरेका थिए । सो क्रममा उनले घिसिङलाई ‘उज्यालो नेपाल’ को नायक नभएको समेत बताएका थिए ।