Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

अमेरिकाबाट डिपोर्ट भएका ८ जना नेपालीलाई परिवारको जिम्मा लगाइयो

अमेरिकाबाट डिपोर्ट भएका ८ जना नेपाली नागरिकलाई प्रहरीले परिवारको जिम्मा लगाएको छ ।

अमेरिकाले बुधबार चार्टर्ड विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याएर छाडेको ८ जनालाई सामान्य सोधपुछपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले परिवारको जिम्मा लगाएको हो ।

ब्यूरोका एसपी नरेन्द्र कुँवरले मानवतस्करीको नेक्ससबारे सामान्य सोधपुछ गरी उनीहरुलाई परिवारको जिम्मा लगाएको जानकारी दिए । अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पद सम्हालेपछि अवैध आप्रवासी फिर्ता अभियानले तीव्रता पाएको छ ।

ब्यूरोले अमेरिकाबाट फर्काइएका नेपालीसँग विविध विषयमा सोधपुछ गरेको थियो । त्यसक्रममा उनीहरुलाई हत्कडी र नेल लगाएर ल्याएको बताएका थिए । ट्रान्जिटपछि खुट्टाको चेक भने खोलिदिएको एक जनाले बताएका छन् ।

प्रहरीका अनुसार ८ जना करिब ६ महिना अगाडिमात्रै अवैध बाटोबाट अमेरिका पुगेका थिए । उनीहरु विचौलियालाई ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएर मध्यपूर्वी मुलुक, युरोप, दक्षिण अमेरिका हुँदै उत्तरी अमेरिका पुगेका थिए ।