नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत जलविरे क्षेत्रमा दुई बस एकापसमा ठोक्किएपछि सडक अवरुद्ध भएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दुर्घटनापछि दुवैतर्फ सवारीसाधन रोकिएका छन्। दुर्घटनामा मानवीय क्षति वा घाइतेको विवरण भने तत्काल सार्वजनिक गरिएको छैन।
यसअघि सम्भावित भारी वर्षा र पहिरोको जोखिमलाई मध्यनजर गर्दै शनिबार राति १० बजेदेखि उक्त सडकखण्डमा सवारी आवागमन रोकिएको थियो। आइतबार बिहानदेखि सडक सञ्चालनमा आए पनि जलविरेमा भएको बस दुर्घटनापछि फेरि यातायात अवरुद्ध भएको हो।
सडक खुलाउने प्रयास भइरहेको सम्बन्धित निकायले जनाएको छ। यात्रुलाई वैकल्पिक व्यवस्था अपनाउन तथा यात्रा अघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।
