नारायण ढुङ्गाना । कति थरी रङहरु मिसिएपछि स्वतन्त्रताको रङ बन्ला? प्रेममा कुन रङको बढी लालित्य होला? आत्माको रङ चाहिँ कस्तो हुन्छ? आत्माको उतारचढाव कस्तो हुन्छ? अनि आत्मा जीवित देखिन्छ र? आत्मा परिकल्पनाभन्दा बाहिरको कुरा हो । रङ्गीन दृश्यमा देखिन सम्भव नहोला तर पनि आत्माको भाव सधैँ मानवसँगै रहन्छ।
‘समय, परिस्थिति र वास्तविकता’ मा कलाकार कृति शाह चन्दका कलाहरुले मानव जीवनका यिनै विविध समय, परिस्थिति र तिनका वास्तविक अवस्थाको वर्णन गर्ने भावात्मक रङ तरङहरु ‘क्यानभास’ मा सजाएकी छन् । रङका तरङलाई आवाजको अनुभव दिलाउने कोशिस गरेको उनले सुनाइन् । उनका सिर्जनामा उज्यालोको खोजी, अटल माया, जनजीवन, सांस्कृतिक धरोहर, शान्ति र न्यायको प्रार्थना लगायतका सन्देशहरु देख्न सकिन्छ । जसरी क्यानभासमा सयौँ थरी रङहरुले फरक मनोविज्ञानको भाषा बोल्छन् । त्यसैगरी ती रङहरुमा कुची खेलाएर जीवनका अनगिन्ती भावहरु मिसाउन उनी सफल भएकी छन् ।
कलाकार चन्दले आत्मिक रङहरुको बहावलाई रङहरुको उतारचढावमार्फत छाम्ने प्रयत्न गरेकी छन् । स्वतन्त्रता अनि आत्माको रङदेखि प्रेमका रङसम्मका सुन्दर चरित्रका अनेक चित्रको रस्वादन गर्न भने नेपाल कलापरिषद् बबरमहल पुग्नैपर्छ । ‘फ्लुड आर्ट’ को अमूर्त धारहरुको वर्चस्व रहेको उहाँका कलाहरुमा रङहरु अनेक दिशामा रङ्गीन भएर बग्दै गरेको देखिन्छ । कला पारखीहरुले आफ्ना मनोदशाको बगाई कलाकृतिमा भेट्न सक्छन् । कलाकृतिमध्येको एक स्वतन्त्रता शीर्षकको शीर्ष कला छ । जहाँ इन्द्रेणीका सातै रङहरुका अनेक घुम्तीहरुबीच एक युवती स्वतन्त्र उडान भर्दै गरेको देखिन्छन् ।
यसले आम महिलाहरुको जीवनको वास्तविकता उदघोष गर्छ । बबरमहलमा यही फागुन २२ गतेसम्म रहने दोस्रो एकल कला प्रदर्शनीबारे कलाकार कृति शाह भन्छिन्, ‘महिला हुन सजिलो कहाँ छ र कति हो कति रङका साङ्लाहरुले उसलाई बाँधिरहेका हुन्छन्, त्यसबाट माथि उठेर सबैका अघि पहिचान खोज्नु भीडमा ठूलो स्वतन्त्रताको माग गर्नु जस्तै हो ।’
‘दियो र उज्यालो’ शीर्षकको उहाँका अर्को फ्लुड आर्टले अँध्यारोमा बग्दै गरेको दीपको उज्यालोको कथा बोल्छ । मानौँ सारा जगत् अन्धकारमय छ तर आशाको सानो दियो अझै जाज्वल्यमान छ र अँध्यारोलाई पराजित गर्ने अर्को महाभारत युद्धको तयारी गर्दैछ । ‘फेस्टिभल’ शीर्षकका कलाका शृङ्खलाहरुले रमणीय रङका बहावहरुले समाजमा व्याप्त अनेक खुसीका रङ्गीन सपनाको झल्को दिन्छ । नेपालमा होली पर्व नजिकिँदै गर्दाको आभास गराउँछ । रातो, पहेँलो, हरियो, नीलो अनि तिनमा मिसिएका अरू धेरै रङहरु जसले हावामा मिसिएरै होलिका नामको नकारात्मक ऊर्जा मेटाउन कोशिस गरिरहेका देखिन्छन् ।
अमूर्त र मूर्त भावको मिश्रणका रुपमा रहेको पारसमणि शीर्षकको उनको कलाले मानिसले आफूभित्रको अथाह शक्ति र सुन्दरताको खोजी गर्नुपर्ने सन्देश दिन्छ । भौतिकतामा लिप्त मानिसहरु धन, दौलत, मणिमाणिक्यको आशमा अन्यत्र भौँतारिरहेको वर्तमान परिदृश्यले उनका कलालाई सबल बनाएको छ । समसामयिक परिवेशलाई छुँदै उहाँले विदेशीले गरेको जे पनि राम्रो र आफ्नो स्रोतको अवमूल्याङ्कन गर्ने प्रवृत्ति हटाउँदै देशभित्रै पारसमणिको खोजी गर्नुपर्ने सन्देश दिएका छन् ।
प्रार्थना शीर्षकको अर्को एक कलामा एक जना बालक विश्व शान्ति र मानव जीवनमा शान्तिको कामना गरिरहेका देखिन्छन् । समग्र पृथ्वीको भावी पुस्ताको प्रतिनिधित्व गर्ने त्यस कलाले वर्तमान अशान्ति, मनमुटाव र दुर्दान्त अवस्थाहरुको अन्त्यको आशा राखेको कलाकार चन्द औंल्याउँछिन् । नयाँ पुस्ताले नकारात्मक सोचलाई त्यागेर एकापसमा भाइचाराको भावना राखी अघि बढ्ने सोच बढाउनुपर्नेमा उनी जोड दिन्छिन् ।
‘अटुमन लभ’ शीर्षकको अर्को कला प्रदर्शनीको अर्को प्रमुख आकर्षण नै हो । जहाँ दुई प्रेमिल जोडी प्रेममा लिप्त छन् । प्रेमलाई जाडो, गर्मी वा कुनै पनि मौसमी चक्रले छुँदैन । जसरी पनि यो जीवन्त बनेर बर्सिन सक्छ भन्ने भाव कलामार्फत कलाकार चन्दले सन्देश दिने कोशिस गरेकी छन् । अर्धनग्न युवतीको भाव भङ्गीलाई उनले यसरी रङहरुमा सुन्दर तवरले सजाएकी छन् ।
यसले ‘न्युड आर्ट’तर्फ पनि कलाकारको कुची भविष्यमा अब्बल रुपमा चल्न सक्ने सङ्केत गर्छ । ‘भाइब्रेसन’, ‘रिदमिक फेयर’, ‘मदर अर्थ’, ‘हार्मोनी’ लगायतका कलाकृतिमा फरक रङसँगै फरक सोचहरु विस्तारित छन् । उनकै शब्दमा ‘समय, परिस्थिति र वास्तविकता’ शीर्षकमा कला प्रदर्शनी राख्नुको तात्पर्य मानिसको जीवनमा सययको माग एउटा हुन्छ परिस्थिति बेग्लै हुन जान्छ र वास्तविकताले अर्कै मोड लिन्छ । जसरी इच्छा आकाङ्क्षाहरू समयअनुरूप परिवर्तन हुँदै जान्छ त्यसरी नै मानिसले आइपरेका वास्तविकतालाई स्वीकार्नु पर्दछ ।
उनी भन्छिन्, ‘सफलता पाउन कुनै प्रसिद्धि र भौतिक सम्पत्ति आर्जन गर्नु मात्र नभई मनको शान्ति र शुद्ध आचरण प्राप्त गर्नु पनि हो ।’ जे जस्तो परिस्थिति आए तापनि अन्याय र अत्याचार नहोस् कसैले अन्याय र अत्याचार नगरोस् भन्ने चाहना कलामा व्यक्त गरेको उनी औंल्याउँछिन् । रङका तरङ्गलाई आवाजको अनुभव दिलाउने कोशिस गरेको उनले बताइन् ।
उनका सिर्जनामा माया, उज्यालोको खोजी, अटल माया, जनजीवन सांस्कृतिक धरोहर, शान्ति र न्यायको प्रार्थनालगायतका सन्देशहरु देख्न सकिन्छ । कला हेरेपछि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरले कलाकार चन्दले खेलाएको रङमा सकारात्मक भाव स्पष्ट अनुभव गर्न सकिने बताइन् । त्यसो त अग्रज कलाकार गोविन्द डङ्गोल, राधेश्याम मुल्मी, कृष्ण मानन्धर, त्रिविका पूर्वउपकुलपति तथा पूर्वराजदूत डा। केदारभक्त माथेमा कलाकार उत्तम डङ्गोल लगायतले प्रदर्शनी अवलोकन गर्दै कलामा मिठास, सकारात्मक सोच र शान्त प्राप्त हुने प्रतिक्रिया दिए ।