चौथो पटक हृदयाघात भएपछि पूर्व युवराज पारस शाह अहिले राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन् । उनको स्वास्थ्यमा सुधार आएको अस्पताले जनाएको छ ।
पारस शाहको स्वास्थ्यमा सुधार भएको र मंगलबारदेखि वार्डमा सारिएको अस्पतालका प्रवक्ता अजय मिश्राले जनाएका छन् । ‘उहाँको अवस्था निकै सुधार भएको छ । अहिले प्राइभेट वार्डमा सारिएको छ’, उनले भने । पटक–पटक हृदयाघात बल्झिएकाले उनको चिकित्सकको विशेष निगरानीमा केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने उनले जानकारी दिएका छन् ।
पारसको डाक्टर यादव भट्ट नेतृत्वको टोलीले उपचार गरिरहेको छ । आइतबार राति हृदयाघात भएपछि शाहलाई सहयोगीले नर्भिक लगेर भर्ना गरेका हुन् । लगत्तै उनको मुटुमा स्टेन राखिएको थियो । त्यसयता आईसीयूमा राखेर उपचाररत उनलाई मंगलबार भने वार्डमा सारिएको हो ।
यसअघि उनमा २०७५ माघ महिनामा हृदयाघात भएको थियो । त्यतिबेला पनि उनको नर्भिकमै उपचार भएको थियो । त्यसअघि पनि थाइल्याण्डमा रहँदा र अर्को एक पटक पनि हृदयाघात भएको थियो ।