थापाथली चोक नजिकै मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ ।
थापाथली चोकबाट नर्भीक इन्टरनेसनल हस्पिटल आउने सडकमा पाइप फुटेको हो । पाइप फुटेर पानी जम्मा भएपछि सडक अवरुद्ध भएको छ ।
थापाथली चोक नजिकै मंगलबार बिहान मेलम्चीको पाइप फुटेको हो । पाइप फुटेपछि सडकभरी पानी बगेको छ । तर, अहिले भने सडकमा पानी बग्न बन्द गरिएको महानगरीय प्रहरी वृत सिंहदरबारले जनाएको छ ।
प्रहरीका अनुसार फुटेको ठाउँ टालेर पानी बग्न बन्द गरिएको हो । यसअघि फागुन पहिलो साता मेलम्ची खानेपानीको पाइप फुट्दा काठमाडौंको बबरमहल क्षेत्र जलमग्न भएको थियो ।
गत मंसिरमा नयाँ बजार क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुटेको थियो । बबरमहलमा पनि खानेपानीको पाइप फुटेर बाढी नै आएको थियो ।