राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई तारेखमा छाड्न अनुरोध गरेका छन्। आफूलाइ बाहिरै बसेर मुद्दा लड्न दिए पीडितको बचत फिर्ता ल्याउन सहयोग गर्ने उनको भनाइ थियो।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग लागेका लामिछानेले न्यायाधीश नीतिज राईसमक्ष भने, ‘बाहिरै बसेर मुद्दा लड्न पाऊँ श्रीमान्। हरेक पटक तारेखमा सहकारी पीडितका पक्षमा काम गरेको रिपोर्टसहित आउनेछु।’ जाहेरवाला पीडित बचतकर्ता र सरकारकारी वकिलको कार्यालयको जवाफी बहस सकिएपछि न्यायाधीश राईले प्रतिवादीलाई केही भन्नु छरु भनेर सोधेका थिए। त्यसपछि बोलेका रविले आफूलाई थुनाबाहिरै बसेर मुद्दा लड्ने व्यवस्था मिलाउन अनुरोध गरेका थिए।
पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा जिल्ला अदालत कास्कीले आजै थुनछेक आदेश जारी गर्ने तयारी गरेको छ। आदेश आउने भएपछि जिल्ला अदालत आसपासको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ। पुस ७ गते जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले पूर्वगृहमन्त्री लामिछाने, पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्वसांसद सूर्यदर्शन सहकारीको संस्थापक उपाध्यक्ष मीना गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङ र पूर्वसञ्चालक कृष्णबहादुर गुरुङलगायत ४४ जनालाई प्रतिवादी बनाएर थप अभियोग दायर गरेको हो।
प्रतिवादीको बयान सकाएर गत मंगलबारदेखि थुनछेक बहस सुरु भएको थियो। मंगलबार र बुधबार जिल्ला सरकारी वकिलको कार्यालयका तर्फबाट बहस भएको थियो। बिहीबार पीडित सहकारीका बचतकर्ताका कानुन व्यवसायीले बहस गरे। शुक्रबारदेखि बुधबारसम्म प्रतिवादीहरुको तर्फबाट बहस भयो। बुधबार जाहेरवालाको तर्फबाट र आज सरकारी वकिलको कार्यालयबाट जवाफी बहस भएपछि थुनछेक आदेश दिने तयारी गरिएको हो।