Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

दार्चुला दुर्घटनाः घाइते चार जनालाई  नेपाली सेनाको हेलिकप्टरबाट धनगढी ल्याइयो

दार्चुलामा जीप दुर्घटनाका गम्भीर चार घाइतेलाई उद्धार गरी अस्पताल पुर्‍याइएको छ । 

आज शुक्रबार शैल्यशिखर नगरपालिका–६ स्थित बकजेवलामा म १ ज ३३८ नम्बरको जीप दुर्घटनामा परी घाइते भएका चार जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

चार जनालाई उद्धार गरी सेती प्रादेशिक अस्पताल धनगढीमा पुर्‍याइएको हो । गोकुलेश्वर अस्पतालले घाइतेहरू भारतीय नागरिक १७ वर्षीय सोहिन शाह, जीप चालक मालिकार्जुन गाउँपालिका–८ पस्तीका ३० वर्षीय सुनील जोशी, बैतडीको डिलाशैनी गाउँपालिका–५ का २८ वर्षीय उत्तम रोकाया र शैल्यशिखर नगरपालिका–५ का ८ वर्षीय सन्दीप रावललाई रेफर गरेको हो ।

मालिकार्जुन गाउँपालिका–३ स्थित मालिकार्जुन धाममा लागेको जात्रा हेरेर फर्किरहेका १३ यात्रु चढेको जीप सडकबाट १०० मिटर तल खसेको हो । दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।  दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ ।