Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

दार्चुलामा जीप दुर्घटनाः सातको मृत्यु, ६ जना घाइते

दार्चुलाको मालिकार्जुनमा आज शुक्रबार बिहान जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ६ जना घाइते भएका छन् ।

मालिकार्जुनबाट गोकुलेतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप शुक्रबार  बिहान करिब ४ बजे शैल्यशिखर नगरपालिका–६ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनास्थल सदरमुकाम खलंगाबाट झण्डै ४० किलोमिटर टाढा पर्छ । 

अहिले पनि मृतकको शव घटनास्थलमै छ । अहिलेसम्म मृतक कसैको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइतेलाई स्थानीय प्रहरीको सहयोगमा उपचारका लागि गोकुले अस्पताल पठाइएको छ । दुर्घटनास्थलमा दार्चुलाका डीएसपीको नेतृत्वमा प्रहरी टोली गइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जीप दुर्घटनामा परेको हो । जीप सडकबाट करीब १०० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन। घटनाको सम्पूर्ण विवरण आइसकेको छैन ।