Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

कवि अधिकारीद्वारा एकल कविता वाचन

भारतको दार्जिलिङस्थित पर्यटकीय सहर मिरिकमा यसै साता कवि तथा गीतकार दिनेश अधिकारीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

साहित्य सुनौं परिवारको आयोजना र दार्जिलिङ जर्नल पब्लिकेशनको सहयोगमा गत बुधबार सम्पन्न कार्यक्रममा कवि अधिकारीले विसं २०३६ देखि २०८१को अवधिमा लेखिएका करिब दुई दर्जन  कविता वाचन गरे । त्यस अवसरमा कवि अधिकारीले लेखनका सम्बन्धमा आफ्ना मान्यता र  वाचित सिर्जनासँग जोडिएका प्रसङ्गहरु सुनाएका थिए ।

आयोजक संस्थाका अध्यक्ष एवम् समालोचक  राजबहादुर राईले समाज र जीवनका विविध पक्षमा लेखिएका कवि अधिकारीका कविता र गीत उत्कृष्ट रहेकाले विभिन्न भाषामा अनुवाद हुनुपर्ने आवश्यकता औंल्याएका थिए ।

संस्थाकी सचिव शीला लामाले यस्ता कार्यक्रमले स्रष्टाको सम्मान  थपिने धारणा राखेकी थिइन् ।