गोरेटो पदले छुँदा पदिकले गोडा डढाई दिए
घोडेटो पथमा हुँदा छल गरी घोडा लडाई दिए
रोजी एकल राजमार्ग गरियो ॐकाव्य यात्रा सुरु
श्रद्धामा शिरमा सधैं रहिरहून् तारा त्रिवेणी गुरु
|१|
माटैभित्र नउम्रदै सतहमा कैयौं जरा काटिए
मागेँ तेब्बर शक्ति ॐकलममा मागेर मिल्ने भए
तिम्रो दूध मसी बनोस् कलमको ॐकाव्य यात्राभर
आमाको जब दूध बन्दछ मसी संसारको के डर
|२|
खाँदा ठान्छु म रिक्त तिक्त नमिठो खादा बहिष्कार छ
सस्ता मान्छु सबै सभा सहरमा माला बहिष्कार छ
टीका उच्च निधारसाथ शिरमा ॐमृत्तिका केवल
मेरो निर्दल लासले लिइरहोस् खादा र माला जल
|३|
जेठा दर्जन खण्डकाव्य सितको कान्छो महाकाव्य होस्
नौलो मूल नवीन काव्यजलको गाग्री घडा नव्य होस्
संस्था वा गुट छन्द-पाद-शरले कुल्चूँ तगारो बने
के बच्चा यदि जन्मको समयमा मस्कन्न आमा भने
|४|
धर्तीले अब जा भनोस् सगरले आ आ र आ आ भनोस्
मैले लोचन चिम्लने समयमा नेपाल आहा बनोस्
हिँड्दैनन् जुन मार्ग सर्जकहरू त्यै मार्ग मैले लिएँ
टाढा लक्ष्य रहे कडा विष बनोस् जो दुग्धधारा पिएँ
|५|