Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

दु:खान्त उत्सव

नाङ्गो आङ चुमेर बग्छ घरको छानो भने रुष्ट छ
आज्ञा नै नलिई चुहिन्छ गहमा आँखा झनै दुष्ट छ
कालो मेघ मडारियो नजिकमै यो जिन्दगी ध्वस्त छ
रोएँ फुर्सदमा थिएँ महलमा ऊ व्यस्तको व्यस्त छ

 ।१।

हावा निष्ठुरले न दिन्छ रुपियाँ छानो उधारो लियो 
सित्तैमा रुपियाँ लिएन जलले गारो बगाई दियो
मेरो जीवन झुन्डियो तुइनमा ऊ हाँस्न अभ्यस्त छ
रोएँ फुर्सदमा थिएँ महलमा ऊ व्यस्तको व्यस्त छ

।२।

मानो छैन मुसा कुदे उदरमा नाघेर सीमा हद
छानो छैन न रोजगार घरमा झन् फुर्सदै फुर्सद
च्याहाँ च्याँ ध्वनिसाथ जन्मिन गयो साँच्चै क्षुधा ज्येष्ठ छ
रोएँ फुर्सदमा थिएँ महलमा ऊ व्यस्तको व्यस्त छ

।३।

मेरा आगतका अनेक सपना हाँसेर सुम्पी दिएँ
खल्ला दृश्य थिए तितो विगतका सम्पूर्ण बिर्सी दिएँ
लाग्यो रोग थला परेँ म घरमा वाचाल ऊ स्वस्थ छ
रोएँ फुर्सदमा थिएँ महलमा ऊ व्यस्तको व्यस्त छ

।४।

खै मान्दैन चुहिन्छ मर्म नबुझी जिब्रो पराई भयो
फोक्सोले मुटुसाथ ढुक्ढुक गरी बाजा बजाई रह्यो
भोको पेट मिची रहेँ म बलले ऊ भोजमा मस्त छ
रोएँ फुर्सदमा थिएँ महलमा ऊ व्यस्तको व्यस्त छ

।५।

डिक्की बोनट झ्यालमा र सिटमा चोक्टा रहे ढाडका
आलो इन्धन देखियो रगतको पाङ्ग्रा बने हाडका 
मेरो देह ढल्यो खुला सडकमा निस्क्यो पजेरो तब
आयो लास यता मसानघरमा छायो उता उत्सव

।६।

छन्द: शार्दूलविक्रीडित
रचनाकार: हिरा भट्ट" बदमास नम्बर दुई"