Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

कुकुरजी

मन्त्रीझैँ सपनाहरू सहिदका  कुल्चेर जान्नौ तिमी
मन्त्रीतुल्य स्वदेशका नदनदी बेचेर खान्नौ तिमी
के खान्छौ भन ए ठुला कुकुरजी छाला कि हड्डी सिनु
मन्त्रीको तुलना तिमीसित गरेँ माफी मलाई दिनू

भन्छन् तस्बिर भुक्छ ऊ सदनमा बोल्छौ तिमी गेटमा
हिँड्दै खुर्खुर छौ तिमी जमिनमा मन्त्री सधैं जेटमा
गल्ती माफ गरी समस्त मनका ईर्ष्या जलाई दिनू
मन्त्रीको उपमा दिई भुल गरेँ माफी मलाई दिनू

चम्चा डाडु लिएर हिँड्छ उसले हिँड्छौ तिमी एकल
मन्त्री चाख्छ सुरा गवाह रसना चाख्छौ तिमीले जल
मेरा कारण घाउ चोट मुटुका सारा गलाई दिनू
मन्त्रीको उपमा दिई भुल गरेँ माफी मलाई दिनू

तारेहोटलमा उपस्थित छ ऊ बस्छौ तिमी खोरमा
खुट्टा मात्र दुई गनिन्छ उसको तिम्रा दुई जोरमा
मेरा निम्ति मुहारमा र मुटुमा माया फलाई दिनू
मन्त्रीको उपमा दिई भुल गरेँ माफी मलाई दिनू

कैयौं तर्क वितर्कमा कलमले मान्यो अझै खिन्नता
मन्त्रीमा र निवासका कुकुरमा धेरै हुँदा भिन्नता
थोरै होइन आजदेखि ममता काफी मलाई दिनू
मन्त्रीको उपमा दिई भुल गरेँ माफी मलाई दिनू

छन्द: शार्दूलविक्रीडित
रचना:हिरा भट्ट 'बदमास नम्बर दुई'