Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

मानव बेचबिखन विरुद्धको १८ औं राष्ट्रिय दिवसको अवसरमा महिलाको निम्ति महिला मञ्च नेपाल ल्यायो सन्देशमुलक गीत (भिडियो)

मानव बेचबिखन विरुद्धको १८औं राष्ट्रिय दिवसको अवसरमा महिलाको निम्ति महिला मञ्च नेपालले आज भदौ २० गते यस सम्बन्धिको सचेतनामुलक गीत सार्वजनिक गरेको छ।

मानव बेचबिखनको बदलिदो स्वरुप र यसबाट जोगिने उपायको विषयमा सचेतना जगाउन तयार गरिएको गीत महिलाको निम्ति महिला मञ्च नेपालको युट्युब च्यानल वुफोवन (WOFOWON)  मा सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवार लगायत अन्य कलाकारहरुको प्रस्तुती रहेको छ । गीत मा वोफोवन सांस्कृतिक समूहका कलाकारहरुले आवाज दिएका छन् ।

महिलाको निम्ति महिला मञ्च नेपाल (WOFOWON) मनोरञ्जन तथा सत्कार (डान्सबार, दोहोरी साँझ, क्याबिन रेस्टुरेण्ट, खाजाघर तथा स्पा/मसाज पार्लर) क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुका लागि काम गर्ने संस्था हो ।  महिलाको निम्ति महिला मञ्च नेपाल (WOFOWON) मनोरञ्जन तथा सत्कार (डान्सबार, दोहोरी साँझ, क्याबिन रेस्टुरेण्ट, खाजाघर तथा स्पा/मसाज पार्लर) क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको नेतृत्वमा काठमाण्डौं जिल्ला प्रशासनमा विधिवत रुपमा (मिति २०६४ साल चैत्र ६ गते) दर्ता भएको नेपालकै पहिलो गैरसरकारी संस्था हो ।

यो संस्था मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको अधिकार प्रवर्द्धन तथा सुनिश्चिताको लागि अभियानरत छ । महिला श्रमिकहरुको कामको सम्मान साथै कार्यरत क्षेत्रमा हिंसामुक्त, सुरक्षित र मर्यादित काम गर्ने वातावरण हुनुपर्दछ भन्ने उद्देश्य र मान्यताका साथ आफ्ना गतिविधिहरु संचालन गर्दै आइरहेको छ ।

मानव बेचबिखन विरुद्धको १८औं दिवस भदौ २० गते विभिन्न कार्यक्रम गरि मनाईदैछ । सन् २००२ मा काठमाडौँमा सम्पन्न दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क)को ११ औँ शिखर सम्मेलनले महिला तथा बालबालिका बेचबखिन विरुद्धको सार्क महासन्धिंलाई २०६३ सालको भदौ २० गते तत्कालीन प्रतिनिधि सभाबाट अनुमोदन गरेको दिनको स्मरणमा हरेक वर्ष भदौ २० गते  यो दिवस मनाउँदै आइएको छ । यस वर्ष “तीनै तहका सरकारको प्रतिवद्धताः मानव बेचबखिन विरुद्ध सबैको एक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदैछ ।
 
मानव बेचबिखन विश्वव्यापी समस्या हो र यो मानवता विरुद्धको गम्भिर अपराध हो । लागूऔषध र हातहतियारको तस्करीपछि सबैभन्दा फाइदाजनक आपराधिक कार्यभित्र मानव बेचबिखन तथा ओसारपसारको अपराध मानिन्छ। चेतनाको अभाव, गरिबी, समाजमा विद्यमान असमानता, बेरोजगारी, र अशिक्षा मानव बेचबिखनका प्रमुख कारणहरू हुन्। सुचना प्रविधिको विकाससँगै मानव बेचबखिन तथा ओसारपसारको प्रकृति र स्वरूपमा पनि परिवर्तन आएको छ। पहिले पहिले भारतका प्रमुख सहर हुँदै तेस्रो देश लगेर मानव बेचबखिन हुने गरेकोमा अहिले नयाँ नयाँ बाटो र गन्तव्यमार्फत बेचबखिन हुने गरेको पाइएको महिलाको निम्ति महिला मञ्च नेपालको दावी छ। अहिले जुनसुकै उमेर,वर्ग,जातका महिला ,बालबालिका,पुरुष ,र्लैगिक र यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरु मानव बेचविखनमा पर्ने गरेको पाइएको महिलाको निम्ति महिला मञ्च नेपालको अनुभव छ ।

समाजका ज्वलन्त सामाजिक सवाल र मनोरञ्जन तथा सत्कारका श्रमिकका समस्यामा केन्द्रित भई तयार गरिएको गीत हेर्नुहोस् भिडियोमा: