Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

फेरि कमरेडहरूकै कुरा!

पैले कमरेडहरू
चप्पल लगाउनु हुन्थ्यो 
र पैदल यात्रा गर्नु हुन्थ्यो 
त्यसैले कमरेडहरूलाई
सुटबुट लगाएका 
गाडीमा हुइँकिएकाहरूसँग रिस उठ्थ्यो ।

अचेल कमरेडहरू
सबैभन्दा महङ्गा जुत्ता लगाएर
सबैभन्दा महङ्गो गाडीमा सयर गर्नुहुन्छ
त्यसैले कमरेडहरूलाई
खाली खुट्टा हिड्नेहरू पराई
र गाडीमा सयर गर्नेहरू साथी लाग्छ।

पहिले कमरेडहरू
झुपडीमा बस्नु हुन्थ्यो 
रोटो-पिठोले पेट भर्नु हुन्थ्यो 
झुम्रो झाम्रोपनि लगाउनु हुन्थ्यो 
गुन्द्रीमा सुत्दा पनि रमाउनु हुन्थ्यो ।

अचेल कमरेडहरूले
आफैले महल ठड्याएका छन् 
मार्सी चामलको भातले पेट ढड्याएका छन 
दिनमै तीन पटक बदलेर
सुट लगाउन पनि भ्याएका छन् 
कमरेडहरूका घरमा
बाली पाकेका गोरु पनि ब्याएका छन 
अचेल कमरेडहरूलाई
झुपडी त घर जस्तै लाग्दैन 
हिजो कमरेडले खाने रोटो पिठो
अचेल कमरेडहरुका कुकुरले पनि खाँदैनन्

पैले कमरेडहरू
पुलिससँग डराउनु हुन्थ्यो 
ूपुलिस आयो भाग भागू 
कमरेडहरू बेस्सरी कराउनु हुन्थ्यो 
कमरेडहरूले
पुलिसका लाठी पनि खानु भएको थियो
पुलिसका लात्ती पनि खानु भएको थियो ।

अचेल 
कमरेडहरू देखेर पुलिस डराउछ
ऊ....परैबाट सलाम चढाउँछ
अचेल त कमरेडहरू
मजदूर किसानका जुलुसमा
पुलिसको लस्कर पठाउछन
गरीवका ढाडमा ठटाउछन् ।

संझदा पनि उदेक लाग्छ
यी दिन आए, ती दिन गए
झुपडीका कमरेडहरू महलका भए ।