Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

एउटा खुस्कटको तोरी मन्तव्य

अमेरिका !
बाफ्रे बाफ क्या साह्रो मन पर्छ
छोर्छोरी अमेरिकामा छन भन्न पाउदा
स-सानो राजै भएजस्तो लाग्छ
छोर्छोरीले अङ्ग्रेजी बोलेको सुन्दा
आहा स्वर्गमा छु जस्तो लाग्छ ।

डलर सोध्नु भा'को 
भो नकुरा गरौं 
डलरका अगाडि हाम्रो नेपाली नोट
गुहू पुछ्ने कागज जति पनि लाग्दैन ।

अमेरिकामा अरुले नहेपुन भनेर
छोर्छोरीलाई सातु खुवाउन बन्द गरेको छु
जाउलो पकाउनै छोडेको छु
भुटेका मकैको सट्टा
पपकर्न खुवाउदै छु
नेपाली परिकार बिर्सुन भनेर
बर्गर हाउसमा लगेर
पिज्जा र बर्गर खान सिकाउदै छु
हातले खाँदा पाखे होइन्छ है भन्दै
चम्चा र काँटाले खान सिकाउदै छु ।

यो देश पनि कहीं देश हो 
पुर्व जन्मको पापले 
हामी यहाँ जन्मेका हौं
धर्मशास्त्रले भनेको नरक
यही हाम्रो देश त हो नि 
अनि स्वर्ग भनेको अमेरिका 
मलाई त गोरेहरू सबै देउता
र हामी नाथे राक्षसजस्तो लाग्छ ।

कति अग्ला 
कति गोरा 
कस्तो सुनकेसरी कपाल 
कति मिठो भाषा 
स्वर्गमा बोलिने भाषा
अमृतजस्तो नभएर के होस पनि ।

मलाई त यो देशको
न हिमाल मन पर्छ
न पहाड मन पर्छ
न मधेश मन पर्छ 
न खोला, न झरना न ताल तलैया मन पर्छ 
सपनामा भने पनि
यसो अमेरिका  घुमेको देखियोस भन्यो 
तेसका बाजे 
यतैको उकालो चढेको देखिन्छ
यतैको ओरालो झरेको देखिन्छ 
हिजो आज 
सपनासँग पनि कम्ता झ्वाँक चल्दैन ।

छोर्छोरीलाई हतार हतार
पठाइहाल्न पाए अमेरिका
एकाध वर्षपछि
आफू पनि तेल भिसामा जानु हुन्थ्यो 
अमेरिकी अप्सराहरूका काँखमा बसेर
पिज्जा र बर्गर खानु हुन्थ्यो ।

साला दलालहरूले चलाएको देशमा
एकै क्षण पनि बस्न मन छैन
सब विदेशीका दलालै दलाल छन
सबै डलरे नै डलरे मात्रै छन ।

एउटा कुरा भन्दिया छु
कसैले मलाई डलरे भन्यो भने
या अमेरिकी दलाल भन्यो भने 
त्यस्को खैराँत ठिक हुने छैन 
मलाई त्यसो भन्नु अगाडि
गर्दन चिलाएको हो कि बिचार गर्नु ।

सबैलाई थाहा हुनु पर्ने हो
सत्य धेरै तितो हुन्छ
सत्य कुरा सुन्दा झनक्क झोक चल्छ 
मलाई पनि कसैले
डलरे या दलाल भन्यो भने
ठिक त्यसै गरी झोक चल्छ ।