गैरसरकारी संस्था (एनजीओ) का कर्मचारी खाजासहित उपस्थित भएपछि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्य व्यवस्था समितिको बैठक बहिष्कार गरेका छन् । अनावश्यक तडकभडक गरिएको भन्दै उनी बैठकमा सहभागी नभई हिँडेको स्रोतले जानकारी दिएको छ । गृहमन्त्री लामिछानेलाई आज विहान साढे ७ बजे समितिले छलफलका डाकेको थियो । बोलाइएको समयमै लामिछाने बैठकस्थलमा पुगेका थिए ।
तर आजको बैठकमा मंहगो मूल्यका खाजा अर्डर गरिएको थाहा पाएपछि गृहमन्त्री भड्किएको स्रोतको भनाइ छ । स्रोतका अनुसार समितिको बैठकमा पहिलो पटक कुनै एनजीओले खाजाको प्रायोजन गरेको थियो । समितिमा गृहमन्त्रीको भनाईलाई उदृत गर्दै स्रोतले भन्यो, ‘यो भन्दा अगाडि यसरी एनजीओबाट खाजा ल्याइएको देखिएको थिएन । यो प्रवृति ठीक भएन । ‘
बैठकमा केही ढिला प्रवेश गरेका नेपाली कांग्रेसका सांसद हृदयराम थानीले प्रवेश गर्नसाथ सभापति रामहरि खतिवडालाई व्यङ्ग्य गरे, ‘आज त टेबलमा काटा चम्चा छ त !’ बैठक हलभित्रै खाजाको पनि प्रबन्ध देखेर उनलाई शंका लाग्यो । त्यसैले सभापति खतिवडालाई थप प्रश्न गरे, ‘निजामती ऐन पारित गर्ने कि मिठो मिठो खाजा खुवाएर हामीलाई भुल्याउने हो सभापति ज्यू?’ छेवैमा बसेका सांसदहरूले थानीलाई प्रश्न सोध्न थाले, ‘के हो यो? के कुरा गर्दै हुनुहुन्छ?’
उनले वरिपरि आँखा डुलाउँदै थपे, ‘यो समितिमा को–को आउनु भएको छ? समितिका सदस्य र विज्ञमात्र यहाँ देख्नुभयो?’ तर, सभापति रामहरि खतिवडाले भने, ‘पहिले खाजा खाऔं अनि छलफल गरौंला ।’ सभापति खतिवडाले यस्तो प्रस्ताव राखेपछि उनकै दल नेपाली कांग्रेसका अर्का सांसद ईश्वरीदेवी न्यौपानेले गम्भीर विमति जनाइन् ।
‘सभापति ज्यू, यो खाजाको स्रोत के हो रु समितिमा नियमित उपलव्ध हुने खाजा हो भने खाऔं । यो कसैले स्पोन्सर गरेको हो भने मान्य छैन’, न्यौपानेले भनेकी थिइन्, ‘यसरी एनजीओलाई स्पोन्सर गरायौं भने भोलिका दिनमा रोक्न सकिँदैन । त्यसैले आजको बैठक नै रोकौं ।’
न्यौपानेले त्यसो भनेपछि एमाले सांसद रघुजी पन्तले थपे, ‘नेपाल सरकारले उपलव्ध गराएको पैसाले हामी खाजा खाइरहेका छौं । यहाँ एनजीओको उपस्थिति किन चाहियो? आज खाजा स्पोन्सर गर्नुहोला भोलि २, ५ हजार खल्तीमा हाल्दिनुहोला । अनि उहाँहरूबाट प्रभावित भएर हामीले कानुन बनाउने?’
त्यसपछि बैठकमा उपस्थित रहेका लोकसेवा आयोगका पूर्व अध्यक्ष मैनालीले आफू कुनै एनजीओको नभएर राज्य व्यवस्था समितिकै निमन्त्रणामा बैठकमा आएको जवाफ दिएका थिए । यतिञ्जेलसम्ममा बैठकमा उपस्थित भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहित केही सांसदहरूले भने खाजा खाइसकेका थिए । गृहमन्त्री लामिछाने भने त्यसपछिको छलफमा सहभागी हुन चाहेनन् । उनले आफूले थाहा नपाइकन खाजा खाइसकेको भन्दै अब बैठकमा नबस्ने भनेर बाहिरिएका थिए ।