म्याग्दीमा अविरल वर्षापछि खसेको पहिरोले दुई छुट्टाछुट्टै स्थानमा घर पुरिँदा एक वृद्धको मृत्यु भएको छ भने अर्को घटनामा एकै परिवारका तीन जनाको सकुशल उद्धार गरिएको छ ।
सोमबार बिहान करिब २ बजे धवलागिरि गाउँपालिका-७ धारापानी तल्लो हाडेभिर स्थित टकदेवी थापाको घरमाथिबाट पहिरो खस्दा घर पुरिएको थियो । घरमा रहेका तीनै जनाको प्रहरी र स्थानीयवासीको सहयोगमा सकुशल उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये लक्ष्मण थापाको दाहिने खुट्टामा सामान्य चोट लागेको छ भने अन्य दुई जनाको अवस्था सामान्य रहेको छ । चौपायामा कुनै क्षति नभएको र आसपासका अन्य बस्ती तत्काल जोखिममा रहेका छैनन् ।
यस्तै, म्याग्दी जिल्लाकै बेनी नगरपालिका-३ भकिम्ली चिमखेतस्थित ७० वर्षीय लालबीर छन्त्याल आफ्नै घरमा सुतिरहेका बेला घरमाथिबाट पहिरो खस्दा घरसँगै पुरिएका थिए । खोजी तथा उद्धारका क्रममा उनको शव फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।