Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

नागढुङ्गा सुरुङमार्ग पीडित संघर्ष समितिको प्रदर्शन

नागढुङ्गा–सिस्नेरी सुरुङमार्ग उदघाट्न हुनु भन्दा अगाडी काठमाडौंको चन्द्रागिरि नगरपालिकाका स्थानीय बासिन्दाले आफ्ना माग हुनुपर्ने भन्दै प्रदर्शन गरेका छन् । नागढुङ्गा सुरुङमार्ग पीडित संघर्ष समितिको नेतृत्वमा स्थानीयले प्रदर्शन गरेका हुन् ।

आयोजनाबाट प्रभावित स्थानीयले सुरक्षाका लागि आकाशेपुल निर्माण गर्नुपर्ने, सडक पेटी विस्तार गर्नुपर्ने, पैदलयात्रुको सहजताका लागि पर्याप्त जेब्रा क्रसिङ तथा ट्राफिक लाइटको व्यवस्था गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । साथै आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारीको सुनिश्चितता हुनुपर्ने र सुरुङमार्गका कारण खानेपानी मुहान सुकेको र स्थानीयले मुहानको विकल्पमा आयोजनाले आजीवन पानीको व्यवस्थापन गरिदिनुपर्ने पनि माग राख्दै आएका छन् ।
 
उनिहरुले फ्लाई ओभर निर्माणको काम तत्काल अघि बढाउनुपर्ने र त्यसको नाम ‘किसिपिडी फ्लाई ओभर’ राख्नुपर्ने माग समेत थियो ।

सुरुङमार्ग उदघाटनका लागि आएका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल अगाडि उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका थिए । मन्त्री लम्सालले संघर्ष समितिका प्रतिनिधिहरुलाई भेटेर माग सम्बोधनको आश्वासन दिएका छन् ।