सुनसरीको हरिनगर गाउँपालिका–स्थित कप्तानगन्जमा दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। यसअघि हरिनगर र देवानगञ्ज गाउँपालिकाभर निषेधाज्ञा पनि लागू गरिएको थियो।
सुनसरी प्रहरीका अनुसार गोली लागेर गम्भीर घाइते भएका हरिनगर गाउँपालिका–स्थित कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्याइए पनि चिकित्सकले गएराति मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार दुई पक्षबीचको सामान्य विवाद उग्र बन्दै हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन बाध्य भएर सशस्त्र प्रहरीले गोली चलाएको हो। घटनामा अन्य १० जना घाइते भएका छन्। उनीहरूको विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम तथा नोबेल मेडिकल कलेजलगायतका अस्पतालमा उपचार भइरहेको छ।
बोलबम यात्राको तयारीका क्रममा विवाद
स्थानीयका अनुसार साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि सप्तकोसी नदीतर्फ जान युवाहरूको एक समूह डिजे बजाउँदै तयारी गरिरहेको बेला अर्को समूहले रातिको समयमा अत्यधिक होहल्ला भएको भन्दै आपत्ति जनाएको थियो। यही विषयमा सुरु भएको विवाद विस्तारै झडप र तोडफोडमा परिणत भएको बताइएको छ।
घटनापछि स्थिति थप तनावपूर्ण बनेपछि इनरुवामा जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेको थियो। बैठकले अवस्था नियन्त्रणमा लिन आवश्यक बल प्रयोग गर्ने निर्णय गरेपछि सुरक्षाकर्मीको व्यापक परिचालन गरिएको थियो। हाल घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।
पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु
घटनापछि प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेका छन्।
कर्फ्यु लागू भएका क्षेत्रहरू:
हरिनगरा बजार क्षेत्र
भुटाहा बजार क्षेत्र
कसनागञ्ज बजार क्षेत्र
घुस्की बजार क्षेत्र
देवानगञ्ज बजार क्षेत्र
कर्फ्यु अवधिभर तोकिएका क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउलगायतका गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ। आदेश उल्लंघन गर्नेलाई एक हजार रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद हुन सक्ने व्यवस्था रहेको प्रशासनले चेतावनी दिएको छ।
हरिनगर र देवानगञ्जमा निषेधाज्ञा पनि
यसअघि जिल्ला प्रशासन कार्यालयले हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञा अवधिमा पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, समूहगत गतिविधि गर्न तथा जुलुस निकाल्न रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई प्रशासनका आदेशको पूर्ण पालना गर्दै शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।