पूर्वाधार निर्माणमा साढे १० अर्ब, कृषिमा दुई अर्ब २७ करोड बजेट
कृषि क्षेत्रको उत्पादकत्व बढाउने, शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्ने तथा प्रदेशको भौतिक पूर्वाधार विकासमा जोड दिने घोषणा गर्दै कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१– ८२ को बजेट सार्वजनिक गरेको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले शनिबार प्रदेश सभा बैठकमा ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट पेश गरेका हुन् ।
कोशीको चालू वर्षको बजेट ३६ अर्ब ६४ करोड थियो । यस पटक झण्डै एक अर्ब रुपैयाँ बराबरको बजेट घटेको छ । प्रदेश सरकारले बजेटमा सरकारी , निजी तथा सहकारी क्षेत्रको सहकार्यमा दिगो विकासको लक्ष्य हासिल गर्ने, स्रोतहरुको न्यायोचित वितरणमा जोड दिने र सङ्घियता कार्यान्वयनका लागि संघ र स्थानीय सरकारसग समन्वय गर्ने उल्लेख छ ।
प्रदेश सरकारले यसअघिका बजेटमा घोषणा गरेको केचना सगरमाथा द्रुत मार्ग, कोशीको जलमार्ग, विराटनगर विमानस्थललाई स्तरोन्नति गर्ने लगायतका कार्यक्रम यसपटक पनि समेटिएका छन । प्रतिष्ठानकी अध्यक्ष रजनी जोन्छेले निःसहायलाई पढाउन छात्रवृत्तिकोष विस्तार गरी त्यसमा पाँच लाख थपिने जानकारी दिए ।
कोशी प्रदेश सरकारले पूर्वाधार विकासका लागि १० अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । योजनामन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकासका लागि १० अर्ब ४१ करोड ५१ लाख बजेट खर्च हुने अनुमान प्रदेश सभामा पेश गरेका हुन् । कृषि तथा सहकारी क्षेत्रका लागि प्रदेश सरकारले २ अर्ब ६७ करोड विनियोजन गरेको छ ।
कृषिमा कोशी प्रदेशलाई धानको बिउको स्रोत व्यवस्थापन गर्ने, ब्याज अनुदान दिइने, चियाको अन्तराष्ट्रिय सम्मेलन गर्ने, खोरेत नियन्त्रण गर्ने तथा सबै जिल्लामा भेटनरी अस्पताल र पशुसेवा विज्ञ केन्द्र स्थापना गर्ने उल्लेख छ । उनले स्थानीय तहलाई ४ अर्ब ५८ करोड हस्तान्तरण गरिने पनि बताएका छन् ।