नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफू किन प्रधानमन्त्री भएको हुँ भन्ने नै थाहा नभएको टिप्पणी गरेका छन् ।
कांग्रेस नागार्जुन नगर कार्यसमितिले गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। महामन्त्री थापाले प्रधानमन्त्री दाहाललाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको बताए ।
महामन्त्री थापाले भने,‘देशको अर्थतन्त्रको हिसाव किताव बिग्रँदै गर्दा त्यसले राजनीतिलाई भारी बोकाउँछ । माओवादीको प्रमुख जो प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई प्रधानमन्त्री भएर के गर्ने भन्ने कुराको कुनै मेसो पनि छैन । किन प्रधानमन्त्री हुनुभएको भन्ने थाहा पनि छैन । के को लागि हुनुभएको हो ? के गर्ने हो ? उहाँ प्रधानमन्त्री नभए के हुन्छ अहिले ? केही पनि छैन ।’
प्रधानमन्त्री के का लागि भएको र प्रधानमन्त्री भएर के गर्ने भन्ने पनि प्रधानमन्त्रीलाई थाहा नभएको उनको भनाइ छ। उनले देशको राष्ट्रिय अर्थतन्त्रको अवस्था बेहाल भएको भन्दै अर्थतन्त्र बिग्रनुको जिम्मेवारी प्रधानमन्त्रीले नलिएको बताए। विगतको सरकारको अर्थतन्त्र पनि राम्रो नभएको भन्दै उनले त्यतिबेला पनि प्रधानमन्त्रीले काँग्रेसलाई दोष लगाएको बताए। उनले प्रधानमन्त्री दाहालले जसरी पनि प्रधानमन्त्री मात्रै बन्ने खेलोफड्को गरिरहेको बताए।
महामन्त्री थापाले एमालेले बजेटको स्वामित्व नलिएको बताए। उनले एमाले आगामी दिनमा सरकारमा बसिरहने तर आफ्नो सरकार हो भनेर नागरिकको तहमा जिम्मेवारी नलिने गरी अगाडि बढेको बताए।
उनले भने ‘अर्थतन्त्रको बेहाल भएपछि बर्बाद भयो। सकियो। खत्तम भयो। नेता चोर। पार्टी चोर भयो। भोलि पनि बन्दैन। पर्सि पनि बन्दैन भन्ने कुरा के ले लिएर आउँछ भने अर्थतन्त्रको हिसाबकिताब बिग्रँदै गर्दा त्यसले राजनीतिलाई भारी बोकाउँछ र आगामी दिनमा यो थप बढ्दै जानेवाला छ। हामी प्रतिपक्षमा छौँ। सरकार मूलत एमाले र माओवादी पार्टीहरुको सरकार छ। माओवादीको प्रमुख जो प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई प्रधानमन्त्री भएर के गर्ने भन्ने कुराको कुनै मेसो पनि छैन। किन प्रधानमन्त्री हुनुभएको भन्ने थाहा पनि छैन। के को लागि हुनुभएको हो? के गर्ने हो ? उहाँ प्रधानमन्त्री नभए के हुन्छ अहिले? केही पनि छैन।'
उनले देशको राष्ट्रिय अर्थतन्त्रको अवस्था बेहाल भएको बेला समेत प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री नै बन्नेबाहेक अन्य काममा कुनै सक्रियता नदेखाएको आरोप लगाए। महामन्त्री थापाले सरकारमा सहभागी दल नेकपा एमालेले सरकारले जुनियर मन्त्रीहरु पठाएर सरकारको जिम्मेवारीबाट पन्छिन खोजिरहेको आरोप लगाए ।